१७ हजार ९२१ जनाले दिए ‘श्रमाधान रोजगार मेला’ मा रोजगारीका लागि आवेदन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । गत जेठ १७ गतेदेखि ३० गतेसम्म सात वटै प्रदेशमा आयोजना गरिएको श्रमाधान रोजगार मेलामार्फत उनीहरूले रोजगारीका लागि आवेदन दिएका हुन् ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्याङ्क सार्वजनिक गरेको हो । मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको बताए । त्यस्तै, रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए ।

मेला विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो । सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरूसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताए । उनका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ मा रोजगारदाताले प्रतिबद्धता जनाए अनुसार रोजगारी प्रदान भए नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए ।
‘मेला मात्रै सम्पन्न भयो तर, रोजगारदाताले प्रतिबद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको विषयमा मन्त्रालयले निरन्तर जानकारी लिनेछ,’ उनले भने । रोजगारीका आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिनेछ ।

मेलामा सीप विकास कार्यशालाहरू, नेटवर्किङ सत्रहरू, स्टलहरू र रोजगारीका अवसरहरूका प्यानल छलफलहरू सञ्चालन गरिएको थियो । जसमा १७६ भन्दा बढी विज्ञहरूले वक्ताको रूपमा सहभागिता जनाएका थिए ।
रोजगारी सिर्जना, योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम आप्रवासन, व्यावसायिक सीप विकास, उद्यमशीलता विकास र यस क्षेत्रका समस्या, चुनौती तथा आगामी कार्यदिशाका सम्बन्धमा छलफल चलाइएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.