अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो ।

सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

एकीकृत गुरुयोजनामा आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसर र भुसकेटमेलामा लज निर्माण गर्ने योजना समेटिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ५० लाख बजेटबाट लजको पूर्वाधार बनाउन सुरु गरिने भएको छ । गाउँपालिकाले अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध गर्नका लागि एकीकृत गुरुयोजना बनाएर अघि बढ्न लागेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

“गुरुयोजनामा समेटिएका पूर्वाधारलाई गाउँपालिका, प्रदेश र संघीय सरकार तथा पर्यटन बोर्डलगायतका निकायसँग साझेदारी र सहकार्य गरेर निर्माण गर्ने योजना बनाएका छौँ, यस वर्ष होटल निर्माण भएपछि आधार शिविरमा खाना बस्नको सुविधा पुग्छ”, उनले भने । गुरुयोजनामा ताल परिसरमा रहेको मन्दिरको व्यवस्थापन गर्ने, अन्नपूर्ण हिमालको पहिलो आरोही मौरीस हर्जोगको सालिक स्थापना गर्ने, शौचालय र खानेपानीको सुविधा पु¥याउने, आरोहीको सुविधाका लागि गोदाम घर बनाउने योजनासमेत अध्ययन गरिएको छ ।

त्यसैगरी पदमार्गअन्तर्गत सुनखोलामा आश्रयस्थल थप गर्ने, गुफाफाँट र साँधिखर्कमा रहेको आश्रयस्थलको क्षमता विस्तार गरी खानेपानी, शौचालयलगायतका पूर्वाधार थप गर्ने, सबै आश्रयस्थलमा सोलार सुविधा पु¥याउने योजना बनाइएको छ । गुरुयोजनामा पदमार्गको आकर्षणको रुपमा रहेको फुतफुते झरनालाई व्यवस्थित गर्ने, झरनाको पानी बगेर जाने खोलामा आर्क प्रविधिको पुल बनाउने, झरना परिसरमा रक गार्डेन बनाउने र कफी सप सञ्चालनको लागि पूर्वाधार बनाउने योजनालाई समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

गुरुयोजनामा नारच्याङमा पर्यटन सूचना केन्द्र बनाउने, प्रवेशद्वारलाई पर्यटक प्रवेशद्वारको रुपमा व्यवस्थित गर्ने योजनालाई समेत समावेश गरिएको छ भने हुमखोला, साँधिखर्क र भुस्केटमेलाको झोलुङ्गे पुललाई व्यवस्थित गर्ने, सुनखोला र नजिकैको खहरेमा समेत पूर्वाधार निर्माण गर्ने, आकासे गुफाको पहिरो रोकथाम र नियन्त्रण गर्ने योजनालाई समेत समावेश गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.