प्रधानमन्त्री दाहालद्वारा विदेशी राष्ट्रलाई ‘बीआइए’मा हस्ताक्षर गरेर नेपालमा लगानी भित्र्याउन आह्वान
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी राष्ट्रहरुलाई नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन्।
‘नेपाल लगानी सम्मेलन २०२४’ को उद्घाटन अवसरमा प्रधानमन्त्री दाहालले नेपालले लगानीका लागि विशिष्ट वातावरण बनाउँदै गइरहेकाले द्विपक्षीय लगानी सम्झौता ९बीआईए० मा हस्ताक्षर गरी लगानी गर्न आह्वान गरेका हुन्।
हालै मात्र सरकारले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्न बीआईए ढाँचा स्वीकृत गरेको थियो। त्यसैगरी सरकारले व्यवसाय र लगानीसम्बन्धी विभिन्न ८ कानुन परिमार्जन गरेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सम्मेलन सुरु भएलगत्तै लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका थिए।
‘नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउन सरकारले हरतरहले कोशिष गरिरहेको छ’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश हो।’
नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको र नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको प्रधानमन्त्री दाहालको दावी छ। उनले लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको बताए।
प्रधानमन्त्री दाहालको सम्बोधन अंश
नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो। त्यसैगरी, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो। नेपाल प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्ताहरूलाई स्वागत गर्दैछ। हाम्रो उदार आर्थिक नीतिप्रतिको अटल प्रतिबद्धता जीवन्त र लगानीकर्तामैत्री व्यापार वातावरणको जग हो। लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीहरूलाई सहजता प्रदान गर्न हामी निरन्तर सुधार गर्न दृढ छौँ।
शान्ति र स्थायित्व भएको देशका रूपमा हामीले आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरेका छौँ। सङ्घीय शासन प्रणालीले देशभर सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको छ।
नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गरेको छ । नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता ९बिआइए० को ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । म हाम्रा सबै मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गर्न प्रोत्साहित गर्दछु।
हाम्रा उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्छ। हाम्रो दक्ष जनशक्ति र कम श्रम लागतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको लागि आकर्षण गर्दछ। राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउँछ।
नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको र तीव्र रूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिका अपार सम्भावना देखाएको छ।
यसबाहेक, विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा मनपर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न मद्दत पुग्छ। नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ।
जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ । त्यस्तै पर्यटन क्षेत्रले समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई संकेत गरेको छ।
नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको छ। करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मा निर्माण चरणमा छन्। यसले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाएको छ।
विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ। यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेका छौँ।
पर्यटन उद्योग अर्थतन्त्रको महत्वपूर्ण योगदानकर्ताको रूपमा देखिएको छ। सन् २०२३ को जुनमा १२ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकको आगमनले गत वर्षको तुलनामा उल्लेखनीय १७ प्रतिशत वृद्धि भएको छ। सूचना प्रविधि क्षेत्रले सन् २०२१ मा सेवा निर्यातमा लगभग ६५ प्रतिशतको उल्लेखनीय बृद्धिदर कायम गरी उच्चस्तरको लगानी मार्ग देखाएको छ। त्यसैगरी नेपालले उच्च मूल्यवान नगदे बालीहरू निर्यातका लागि आकर्षक अवसरहरू प्रस्तुत गरेको छ, यसले लगानी आकर्षणलाई अझ बढाउने र आर्थिक वृद्धिमा योगदान पु¥याउने देखिएको छ।
तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात, लगानीको प्रचुर सम्भावना भएका प्रमुख उत्पादन हुन्। दुई विशेष आर्थिक क्षेत्रहरूको सञ्चालनसँगै देशभर निर्माणको चरणमा रहेका अन्य आर्थिक क्षेत्रले देशको आर्थिक वृद्धि र औद्योगिक विकासलाई बढावा दिने हाम्रो प्रतिबद्धतामा जोड दिएको छ।
हाल नेपालमा दश औद्योगिक जिल्लाहरू सञ्चालनमा आएका छन्, थप छ वटा विकास गर्ने योजना रहेको छ, यसले कम लागतमा प्रारम्भिक लगानी सुनिश्चित गर्दछ र आवश्यक पूर्वाधार एवं अन्य सहयोग गर्नेछ।
उदीयमान बजार भारत र चीन बीचमा अवस्थित नेपालको रणनीतिक स्थानका कारण पनि नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो भन्ने देखाउँछ। बजारमा शुल्कमुक्त पहुँच, क्षेत्रीय सम्झौताहरू साफ्टा÷बिम्स्टेक एवं स्वतन्त्र व्यापार सम्झौताले पनि द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित गरेको छ।
अन्तर्राष्ट्रिय निजी लगानीको सहज प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि अनुमोदन गर्छ भने लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ। दुबै सरकारी संस्थाहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई तोकिएको समय सीमाभित्र सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन्। नेपालमा वैदेशिक लगानी गरेका कम्पन्नीहरू नाफामुखी देखिएका छन्। ती कम्पनीहरूले लाभांश फिर्ता लगेको अवस्थाले पनि नेपालमा लाभदायक लगानीको वातावरण भएको प्रष्ट देखाउँछ।
हालै भएका सम्झौता र समझदारीको आदानप्रदान सहकार्य र साझेदारीको नयाँ युगको सुरुआत भएको प्रतीक हो । मलाई विश्वास छ निकट भविष्यमा यसको परिणाम आउनेछ।
मलाई विश्वास छ, दुई दिनको यो महत्त्वपूर्ण सम्मेलनमा विभिन्न तहमा केही घोषणाहरू गरिनेछन् । यसले सरकार–सरकार, सरकार–व्यवसाय र व्यवसाय–व्यवसाय–सरकारको तहमा नेपाललाई विश्वव्यापी लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्नेछ।
यस शिखर सम्मेलनमा प्रस्तुत गरिने परियोजनाहरूले हाम्रो देश र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजाहरूको प्रतिज्ञासहित नेपालमा लगानीका विशाल अवसरहरू सिर्जना हुनेछ। आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य स्वदेशी र विदेशी दुवै निजी क्षेत्रसँगको सामूहिक साझेदारीमा सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु। सबैको सहकार्य र सहयोगले नेपालको आर्थिक सम्भावनालाई सदुपयोग गरी आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्नेमा म आशावादी छु।