निजी क्षेत्रबाट निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूले ३८ अर्ब ६० करोड लगानी गर्ने भएका छन्।
कुल ५५ अर्ब १५ करोड लागत अनुमान गरिएको २८५ मेगावाटको उक्त आयोजनामा स्व पुँजीमार्फत १६ अर्ब ५५ करोड लगानी गरिने भएको हो।
बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७० प्रतिशत र स्वपुँजी ३० प्रतिशत रहने भएको हो।
यो आयोजनाको वित्तीय व्यवस्थापन अन्तर्गत कर्जा सुविधा व्यवस्थापन सहवित्तीकरण अन्तर्गत एभरेष्ट बैंकको अगुवाइ रहने छ।
त्यस्तै कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआइडिसिएलको सहनेतृत्व रहने छ। लगानीकर्ता बैंकहरू राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबिआइ बैंक र गरिमा बैंक रहेका छन्।
ऋण स्वीकृत सम्बन्धी सम्झौता पत्रमा बिहीबार एक कार्यक्रमबीच प्रवर्द्धक कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र ऋण लगानीकर्ता बैंकहरूको तर्फबाट एभरेष्ट बैंकका कार्यकारी अधिकृत सिइओ सुदेश खालिङले हस्ताक्षर गरेका छन्।
नेपाली लगानीकर्ताहरू र स्वदेशी बैंक तथा वित्तीय संस्थाहरूले लगानी गरी बनाउन लागिएको यो आयोजनामा स्वदेशमा उपलब्ध स्रोत प्रविधि र साधनको अधिकतम प्रयोग गरि निर्माण गरिने आयोजनाले बताएको छ।
माथिल्लो तमोर अर्धजलाशययुक्त आयोजना हो। यो आयोजना ताप्लेजुङ जिल्लाको फक्तान्ग्लुंग गाउँपालिका र फुन्निलंग नगरपालिका भएर बहने तमोर नदिमा विकास गर्न लागिएको आयोजना हो।
यो आयोजनाको ८ लाख घनमिटर पानी सञ्चित गर्ने क्षमताको हेड पोखरी छ। ८।७ किमी लामो भूमिगत हेडरेस टनेल र भूमिगत पावरहाउस फक्तालुंगागा गाउँपालिकामा रहनेछन्। आयोजनाको भूमिगत विद्युत गृह १०४ मिटर लामो २० मिटर चौडाइ हुनेछ। टेलरेस फुन्ग्लिंग नगरपालिकामा रहने छ।
आयोजनाको ग्रसहेड ४५० मिटर छ। आयोजनामा ५७ मेगावाट क्षमताका पाँच वटा प्लेटोन टर्बाइनहरू जडान हुनेछन्। आयोजनाबाट वार्षिक एक हजार ६ सय ५५ गिगावाट आवर विद्युत उत्पादन हुने सक्छ। जसमध्ये सुख्खा यममा मात्रै ४४६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ।
आयोजनाबाट उत्पादित विद्युतलाई २२० केभीको करिब १५ किमी लामो डबल सर्किट विद्युत प्रसारण लाइनमार्फत ढुंगेसाँघु सबस्टेशनमा लगि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
यो आयोजना निर्माण २०८५ जेठ १९ गतेसम्म सकिने उल्लेख गरिएको छ। आयोजना सञ्चालन आएको पहिलो वर्ष १० अर्ब १२ करोड रूपैयाँ आम्दानी विद्युत बिक्री गरेर प्राप्त गर्ने लक्ष्य लिइएको छ। त्यसपछि हरेक वर्ष विद्युत बिक्री बढाउँदै लगेर ९ वर्षमा १२ अर्ब ५५ करोड रूपैयाँ आम्दानी हुनेछ।
वित्तीय व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै तमोर इनर्जि प्रालिका अध्यक्ष पुष्पज्योती ढुंगाना २०४९ विद्युत ऐन आएपछि जलविद्युत आयोजना विकासमा सहज भएको बताए।
ुहामीले एक मेगावाटबाट आयोजना सुरू गरेका थियौं। ऐन नआएको भए अहिले २८५ मेगावाटसम्म पुग्न सक्ने थिएनौं,ु उनले भने।
स्वदेशी लगानी र जनशक्ति प्रयोग गरेर निजी क्षेत्रले पनि ठूला आयोजना निर्माण गर्न सक्छन् भन्ने उदाहरणका रूपमा माथिल्लो तमोर रहने उनले उल्लेख गरे।
ुजहिले पनि नेपालीले ठूलो लगानीका आयोजना निर्माण गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठ्ने गर्छ। अनि प्रतिफल दिन सक्छन् कि सक्दैनन् भन्ने आशंका पनि गरिन्छ,ु उनले भने, ुतर विद्युत प्राधिकरणले समयमै प्रसारण लाइन बनाइदिने हो भने हामी राम्रो प्रतिफलको सुनिश्चितता गर्न सक्छौं।ु
एभरेष्ट बैंकका कार्यकारी अधिकृत सिइओ सुदेश खालिङले स्वदेशी बैंकहरूले पनि ठूला आयोजनामा लगानी गर्न सक्षम भएको बताए।
ुमलाई विश्वास छ भविष्यमा योभन्दा ठूला आयोजनामा लगानी गर्न बैंकहरूलाई प्रोत्साहन मिल्ने छ,ु उनले भने।
स्वतन्त्र उर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले लगानी वातावरण हुने हो भने निजी क्षेत्रले ५०० मेगावाट सम्मका आयोजना निर्माण गर्न सक्ने बताए।
ुनिजी क्षेत्रले पनि १०० मेगावाट भन्दा माथिका आयोजना बनाउन सक्छौं भन्ने यसले देखाएको छ। अहिलेको विधेयक १०० मेगावाटभन्दा माथिका आयोजना निजी क्षेत्रले बनाउनै सक्दैन कि भन्ने हिसाबले बनाइएको छ। यो संसोधन हुनुपर्छ,ु उनले भने।
सरकारले प्रसारण लाइन समयमा बनाउनुपर्ने पनि उनले बताए। सरकारले भारतमा मात्रै १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएकाले त्यो लक्ष्य भेट्न उर्जा दशक घोषणा गरिनुपर्नेमा सरकारले बजेटमा त्यो कुरा छुटाएको गुनासो गरे। त्यस्तै सरकारले २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा त्यो लक्ष्य भेट्नका लागि आवश्यक ४६ खर्ब लगानी गर्न बैंक तथा वित्तीय संस्था तयार हुनुपर्ने उनको भनाइ छ।
माथिल्लो तमोरमा बैंक तथा वित्तीय संस्थाको सहभागिताले अन्य आयोजनामा लगानी गर्न पनि प्रोत्साहन थपिने उनले विश्वास व्यक्त गरे।
ताप्लेजुङका जनप्रतिनिधि एंव एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङ जलविद्युत आयोजनाका दृष्टिकोणले नेपालकै अग्रणी जिल्ला भएको बताए। यो जिल्लामा थुप्रै जलविद्युत आयोजनाहरू बनेको उनले उल्लेख गरे।
आउने पाँच वर्ष भित्र ताप्लेजुङमा एक हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन हुने उनले बताए। यसले त्यहाँका स्थानीय समुदायको आर्थिक अवस्थामा उल्लेख्य सुधार हुने बताए।
ुकुनै बेला नेपालमा निजी क्षेत्रले एक मेगावाट विद्युत उत्पादन गर्यो भन्दा निकै खुसी लाग्थ्यो। सम्भवत माथिल्लो तमोर निजी क्षेत्रबाट लगानी भएको सबैभन्दा ठूलो जलविद्युत आयोजना बन्दैछ। यसले लगानीकर्तामा आत्मबल बढाएको छ,ु उनले भने।
निजी क्षेत्रले ठूला आयोजनामा पनि लगानी गर्न सक्छ भन्ने विश्वास बढेको उनको भनाइ छ।
राजनीतिक र प्रशासनिक नेतृत्वले सहजीकरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
ुहामीले अझै प्रोत्साहन गर्नुपर्छ। नेपाली बैक तथा वित्तीय क्षेत्र र निजी क्षेत्रलाई कसरी प्रोत्साहन गर्ने भनेर सोच्न जरूरी छ। विधेयकलाई लगानीमैत्री बनाउनुपर्छ,ु उनले भने।
छोटो समयमा मुलुकलाई समृद्ध बनाउने एउटा आधार जलविद्युत भएको बताउँदै यो क्षेत्रमा देखिने ससाना अवरोधहरू हटाउन सक्दो पहल गरिने बताए।
ुसाना साना अवरोधले निर्माण अवधी लम्ब्याइदिएको छ। लागत बढाइदिएको छ। एउटा रूखले वर्षौं अल्झाएको छ। स्थानीयसँग हुनेको द्वन्दको व्यवस्थापन, लगानी जोखिम, प्राकृतिक विपत्तीबाट आउने जोखिममा सरकारले म अभिभावक हुँ भनेर ढाडस दिन सक्यो भने राम्रो लगानीको वातावरण बन्ने थियो। यसमा सबैको गम्भीर ध्यान जान जरूरी छ,ु उनले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालले क्षमताअनुसार बिजुली उत्पादन गर्न नसकेको बताए। सरकारले सहजीकरण गरेर उत्पादन प्रोत्साहन गरने पनि बताए।
ुअब नेपाली लगानीकर्ताहरू ठूलाठूला आयोजनामा पनि लगानी गर्छन्। यो क्षेत्रमा मात्रै होइन भौतिक पूर्वाधार क्षेत्रमा पनि लगानी गर्न सक्छन् भन्ने अपेक्षा छ। अब विदेशी लगानीकर्ताले मात्रै लगानी गर्न सक्छन् भन्ने अवस्था रहेन,ु उनले भने।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालको स्रोत नदीहरूलाई उपयोग गरेर विद्युत उत्पादन गर्ने कुरा आकर्षणको कुरा भएको बताए।
समयमै प्रतिफल दिने गरी राज्यले नीति बनाउने र व्यवस्थापन गर्ने पनि उनले उल्लेख गरे।
ुविद्युत विधेयक राम्रो पार्न उपभोक्ता लगायत सबै सरोकारवालाको कुरा समेट्नुपर्छ। यसमा संसदबाट माननिय सदस्यहरूले पनि आवश्यक भूमिका खेल्नुपर्छ। ताप्लेजुङ जिल्लावासीको नाताले मैले पनि सहजीकरण गर्छु,ु उनले भने।
हालसम्म आन्तरिक स्रोतबाट निर्माण सकिएको निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना दूधकोशी जलविद्युत आयोजना हो। ८६ मेगावाटको उक्त जलविद्युत आयोजना १३२ केभी डबल सर्किट क्षमताको १२ किलोमिटर लामो तिङ्ला प्रसारण लाइनमा जोडिएको छ।