पहिलो पटकको अन्तर्वार्तामा अनुपस्थित भएका धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवार दोस्रो पटकको लागि बोलाइएको समयमा पनि उपस्थित भएनन्।
गत असार २ गते बोलाइएको अन्तर्वार्तामा समेत दुई जना मात्रै उपस्थित भएका थिए।
धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा पाँच उम्मेदवार छनिएका थिए।
छानिएकामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भएका थिए।
हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई दुवै पटक अन्तर्वार्तामा सहभागी भएनन्।
नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ।
समितिले यसरी सिफारिस गरेको नामको आधारमा सरकारले एक जनालाई नियुक्ति गर्नुपर्ने व्यवस्था छ।
कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेकाले यो संख्या नपुग्ने देखाउन अन्तर्वार्तामा छानिएकामध्ये तीन जना सहभागी नभएको बुझिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो।
पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व बिहिन छ। अध्यक्षको बहालीको लागि विभिन्न व्यावसायिक घरानाबीच द्वन्द्व रहेकोले पनि नियुक्ति प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको थिएन।
यसपटक पनि प्रक्रिया रद्द हुने सम्भावना देखिएको छ।