भरतपुर भ्रमण वर्षमा यातायात भाडामा ४० प्रतिशत छुट

चितवनका यातायात व्यवसायीले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा सार्वजनिक यातायातमा ४० प्रतिशत भाडा छुटको घोषणा गरेको छ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुर रिङरोडमा चल्ने यातायातमा भाडा छुट गर्ने निर्णय गरिएको हो।

चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र ओम शान्ति यातायात सेवा प्रालिले भाडामा छुटको व्यवस्था गर्ने घोषणा गरेका हुन्।

यी संस्थाका १५० वटा गाडी हरेक दिन पूर्वी चितवनबाट भरतपुरसम्म चल्छन्।

चितवन छाहारी यातायात सेवा प्रालिका अध्यक्ष वद्रिप्रसाद पौडेलले भ्रमण वर्षको प्रवर्द्धन गर्ने उद्देश्यले भाडामा छुटको व्यवस्था गरेको बताए। ६८ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई भाडा निःशुल्क गरिने उनले बताए।

‘हाम्रा गाडीहरु रिंङरोडमा ३(३ मिनेटमा गुड्छन्। अहिलेलाई हामीले सदरमुकामलाई मात्रै लक्षित गरेर भाडामा छुट गरेका छौं। बिस्तारै विभिन्न पर्यटकीय गन्तव्यसम्म पुग्ने यातायातमा पनि छुटको व्यवस्था मिलाउँछौं,’ पौडेलले भने।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले रिंङरोड क्षेत्रमा सार्वजनिक यातायातमा भाडा छुट सुरुआत भएको बताइन्।

भ्रमण वर्षमा निजी क्षेत्रसँग मिलेर छुटका प्याकेजहरु घोषणा भइरहेको बताइन्।

‘होटल, यातायात, व्यापार, व्यवसायमा छुटको व्यवस्था मिलाउन हामीले सुरुबाटै प्रयास गरिरहेका हौं। केहीमा अझै प्रयास भइरहेको छ,’ उनले भनिन्, ‘स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा भ्रमण वर्ष सफल बनाउने हो।’ उनले भ्रमण वर्षले समग्र जिल्लाकै व्यवसायमा चहलपहल बढेको बताइन्।

उपमेयर चित्रसेन अधिकारीले महानगरभित्र चल्ने सबै सार्वजनिक यातायातमा भाडा छुट गर्न प्रयास भइरहेको बताए।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यातायातमा गरिएको भाडा छुटको सकारात्मक प्रभाव पर्यटनमा पर्ने विश्वास व्यक्त गरे।

महानगरका पर्यटन विज्ञ विश्व सुवेदी भ्रमण वर्षमा २ लाख बाह्य, ५ लाख आन्तरिक पर्यटक भित्र्याउने प्रयासमा यातायात व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउँछन्।

भ्रमण वर्षमा महानगरले ७ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्य र २१ पर्यटकीय स्थलहरुको प्रवर्द्धन गरिरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.