श्री एयरको ८० सिटको जहाजले भरतपुरमा सुरू गर्‍यो परीक्षण उडान

श्री एयरको जहाजले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरू गरेको छ।

बिहीबार बिहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो।

८० जना यात्रु बोक्ने क्षमताको यो जहाजलाई स्वागत गर्न उपप्रधान एव‌ं गृहमन्त्री रवि लामिछाने, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत भरतपुर विमानस्थल पुगेका थिए।

अहिले बुद्ध एयरका जहाजले मात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन्। बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमती पाएको हो।

श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरू गर्ने बताए।

‘भरतपुर आउँदा धेरै उचाइ लिन पाइँदैन, काठमाडौंबाट उड्ने बित्तिकै अवतरणको बेला भइहाल्छ। तर स्मुथ छ, कुनै समस्या भएन,’ उनले भने, ‘अनुमति पाएपछि नियमित उडान सुरू गरिहाल्छौं।’

त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो। बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले प्रक्रिया पुरा भएलगत्तै भरतपुर विमानस्थलमा श्री एयरको नियमित उडान सुरू हुने बताए। उनले रन(वे बढाएर भरतपुर विमानस्थलको स्तरोन्नतीको काम सुरू हुन लागेको, नयाँ टर्मिनल भवन बनिरहेको अवस्थामा ठूलो क्षमताको जहाज आउन लागेको बताए।

असार मसान्तसम्म प्राधिकरणको बजेट पास हुने साउनमा विमानस्थलको विस्तारका लागि टेण्डर आह्वान हुने उनले बताए।

‘ढिलोमा सन् २०२५ को जनवरीसम्ममा विस्तार भइसक्छ,’ उनले भने, ‘त्यसपछि भरतपुरमा रात्रिकालीन सेवा सुरू हुन्छ। चौबिसै घण्टा जहाज अवतरण गर्न सकिन्छ। अहिले परीक्षण भइरहेको ८० सिटको जहाजमात्रै होइन जेट पनि अवतरण हुनसक्छ।’

उनले विमानस्थलको स्तरोन्नतीपछि बुद्ध, यती लगायतका एयरलाइन्सका एटिआर–७२ जहाजहरू पनि अवतरण हुनसक्ने बताए। हाल १२ सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रसम्म विस्तार गरेर धावनमार्ग १८ सय मिटर बनाउने लक्ष्य छ। यसका लागि गत माघ १८ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय गरिसकेको छ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले निरन्तरको प्रयासपछि विमानस्थलको विस्तार, टर्मिनल भवनको निर्माण र ठूलो क्षमताको जहाज अवतरण एकैसाथ हुन लागेको बताइन्।

‘७ वर्षमा ७ बढी मन्त्री फेरिए। सबैसँग निरन्तर समन्वय, सक्रिय पहल गरियो। यसपालि संघीय सरकारको बजेटमा भरतपुर विमानस्थलको विस्तार, घोडा प्रजनन् केन्द्र स्थानान्तरण लगायतका काम गर्न बजेट विनियोजन भएको छ,’ उनले भनिन्, ‘यो भन्दा खुसीको कुरा के हुन्छ र, सपना साकार भएको छ।’

उनले विमानस्थल विस्तार भएसँगै धेरै जहाज अवतरण हुने र प्रतिष्पर्धा बढेर भाडा कम लाग्ने बताइन्।

‘देशको केन्द्रमा रहेको, आर्थिक विकास केन्द्र रहेको ठाउँमा विमानस्थलको क्षमता विस्तार हुने आवश्यक छ। यहाँ क्रिकेट रंगशाला, सिटी हल बनिरहेका छन्। मेडिकल हव, कृषिको उर्भर क्षेत्र भएकाले विमानस्थललाई स्तरोन्नती गर्नै पर्ने थियो,’ उनले भनिन्।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विमानस्थललाई विस्तार गरेर आन्तरिक उडान भर्ने सबै जहाज यहाँ आउने वातावरण बनाउने बताए।

गृहमन्त्री रवि लामिछानेले ठूलो क्षमताका जहाजसँगै चितवनमा खुसी पनि आउने बताए।

‘पहिलो कुरा प्रतिष्पर्धाले भाडामा कमी आउँछ। अर्को कुरा अब विस्तार सकिएपछि चौबिसै घण्टा विमानस्थल चल्दा अथाह सम्भावना भएको चितवनलाई सघाउँछ। पर्यटन विकासमा सहयोग पुग्छ। ठूलो ढोका खुलेको छ,’ उनले भने, ‘विमानस्थलको विस्तार गर्ने अभियानमा म सबैभन्दा अन्तिममा जोडिएँ। अहिलेसम्म मेहनत गर्नेलाई धन्यवाद छ। म राम्रा कामका लागि सधैं हौसला दिन्छु र यो काम अघि बढ्दा कुनै पनि बाधा आउन नदिने प्रतिबद्धता गर्छु।’

श्री एयरलाइन्सका अपरेसन डाइरेक्टर क्याप्टेन कुन्दन गिरीले अनुमति पाएपछि गर्मीको मौसममा काठमाडौंबाट आउँदा ७० भन्दा बढी र फर्किँदा कम्तीमा ५५ जना यात्रु बोक्न सक्ने बताए। उडान सुरू गरेसँगै भाडा पनि घट्ने उनले बताए। बुद्ध एयरको भरतपुर–काठमाडौं उडानको भाडा अहिले ४ हजार ६ सयभन्दा बढी छ।

श्री एयरलाइन्ससँग अहिले ड्यास–८–क्यू–४०० जहाज ७ वटा छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.