महासङ्घ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फन्डलाई आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् । अस्ट्रियाको भिएनामा मंगलबार ओपेक फन्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटकाका क्रममा ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि लगानीको गन्तव्य बन्न सक्ने बताएका हुन् ।

अध्यक्ष ढकालले विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताए । उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे । ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको ठुलो सम्भावना रहेको बताए ।

नेपाल सरकार र भारत सरकारबिच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने हुँदा जलविद्युत तथा नवीकरणीय ऊर्जामा लगानीको अवसर रहेको उनको भनाई थियो । त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे ।

‘महासङ्घको पहलमा दुई पक्षीय लगानी ९बीआईए० फ्रेमवर्क तयार भई मन्त्रीपरिषद्बाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ,’ उनले भने । मुलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासङ्घले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुबईमा बिजनेस समिटको आयोजना गरेको बताए ।

ओपेक फन्डका अध्यक्ष अब्दुल हमिद अलखलिफाले नेपालमा ओपेक फन्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत तथा साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ओपेक फन्डले थप लगानी गर्न तयार रहेको बताए । त्यसैगरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फन्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताए ।

यसबाहेक ओपेक फन्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फन्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मंगलबार हस्ताक्षर गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.