ज्योति विकास बैंकले बैंकको रिक्त वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ।
बैंकले साउन १ गतेबाट लागु हुने गरी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव बोकेका नव–नियुक्त वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिनादेखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रही आएका छन्।
चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेसनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआइसी एसिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको छ।
उनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा पूर्व सञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटलको अध्यक्ष पनि हुन्।
यसका साथै, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव–नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात गरी विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन्।
विगत ७ वर्षदेखि यस विकास बैंकमा आबद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन्।
बैंक कार्य सम्पादन गर्नेहरूको लागि उर्वरा भूमि बनाउने ध्येय अनुरूप कार्य गर्दै आएको छ।
साथै बैंकले सोका लागि आवश्यक पर्ने समुचित वातावरण र संस्थागत संस्कृति स्थापना गरेको छ।
फलस्वरूप, उनीहरूको अद्वितीय योगदानको कदरस्वरूप उनीहरूलाई पदोन्नति गर्ने बैंकले निर्णय गरेको हो।
उच्च कार्य सम्पादनको समयमै समुचित प्रतिफल दिने तथा यसलाई साधकको रूपमा ग्रहण गरी बैंकलाई ुपर्फमर्स प्याराडाइजु बनाउने दीर्घकालीन साध्य हासिल गर्नमा यो पदोन्नति कोसेढुंगा साबित हुने विश्वास बैंकले लिएको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।
सोही मान्यता अनुरूप बैंकले नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी र सहयोगले हालसम्म करिब ८५० भन्दा बढी नेपाली शिशुहरूको जीवन रक्षा गर्न सफल भएको छ।
यस्ता जीवनरक्षण गर्ने महत्त्वपूर्ण क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये बैंकले अग्रस्थानमा रही काम गर्दै आएको छ।
संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन बैंक सदैव प्रतिबद्ध रहेको छ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।