काठमाण्डौबाट अमेरिका लैजाने भन्दै ४ सय जनाको डेढ अर्ब उठाएर भाग्ने तयारीमा प्रसाद

प्रहरीसँगको सेटिङमा ११ वर्षमा ४ हजार बढिलाई अवैध बाटो हुँदै अमेरिका

काठमाण्डौबाट अवैध रूपमा अमेरिका पठाउने भन्दै ४ सय जनाको डेढ अर्ब उठाएका पर्वतका प्रसाद भनिने जनक प्रसाद श्रेष्ठ सिमाना कडाइले काम रोकिने भएपछि मलेसिया भाग्ने तयारीमा छन् । अमेरिकाको प्रलोभन देखाएर ४ सय जनालाई अवैध बाटोबाट अमेरिका लैजान लागेका श्रेष्ठले सिमानामा कडाइ भएपछि बाटोमा अलपत्र नेपालीको पैसा उठाएर मलेसिया भाग्न लागेका हुन । उनले बागलुङ, पर्वत, म्याग्दी कास्की र गोरखका ४ सय बढिलाई अमेरिका लैजाने भन्दै दुबई, ब्राजिल, कोलम्बिया, काजकिस्तान लगायतमा लगेर अलपत्र पारेका छन् । दुबईको एक होस्टेलमा लामो समयदेखि रोकिएका २ सय ४० जनाले दिएको सुचनाका आधारमा नेपालमा खोजी शुरु भएपछि भागेर मलेसिया जान लागेका हुन ।

मानव तस्करीमा कुख्यात नाईकेका रूपमा चिनिने श्रेष्ठले गएको ११ वर्षमा नेपालबाट झन्डै ४ हजार बढिलाई अवैध बाटो हुँदै अमेरिका पठाएका छन् । यसअघि उनले पठाएका धेरैजना सहजै अमेरिका प्रवेश गरेको र प्रहरीमा समेत सेटिंगमा रहेकाले उनका विरुद्धमा परेको उजुरीमा नेपाल प्रहरी समेत मौन बस्ने गरेको थियो । यसपटक भने श्रेष्ठसँगै उनले कारोबार गरेको बैङ्क खाता र आफन्तहरूको खातामा समेत भएका कारोबारका डिटेल विवरणमाथि अनुसन्धान शुरु भएको बुझिन्छ । विशेष स्रोतका अनुसार श्रेष्ठले अहिले पनि काठमाण्डौको सामाखुसी आसपासमा रहेर भाग्ने योजनासहित थप पैसा उठाइरहेका छन् । उनले पर्वतमा रहेका एक आफन्त मार्फत समेत पैसाको कारोबार गर्ने गरेको सूचना आर्थिक समाचारले प्राप्त गरेको छ । त्यसो त श्रेष्ठसँगै रुकुममा डिबी केसी, लमजुङका आरके भनिने राम कुँवर र गोरखाका आले भनिने याम आले मगर लगायतका मान्छे समेत दुबई लगायतका देशमा छन् । तर, प्रसादले भने अन्तिम पटक मोटो रकम उठाएर भाग्ने योजना बनाएकाले प्रसादका मान्छे आत्तिएको आर्थिक समाचारको सम्पर्कमा आएका पर्वतका एक युवकले सुनाए ।

दुबई बाहेक ब्राजिल, कोलम्बिया, मेक्सिको लगायतका देशमा समेत प्रसादका मान्छे धेरै छन । उनिहरुमार्फत पनि दलालले मोटो रकम उठाईसकेका छन । प्रसादको मानव तस्करीको मुख्य अखडा सामाखुसीस्थित बिगमार्ट छेवैको एउटा खाजाघर भएपनि उनिसँगै काम गरिरहेका अन्यले काठमाण्डौको बालाजुस्थित एक रेष्टुरेन्ट र हात्तिगौडामा बसेर काम गरिरहेका छन । उनिहरुमार्फत अमेरिका जान हिडेका युवाहरुले यिनै स्थानमा पुगेर आर्थिक कारोबारगरेको भिडियो पठाउँदै उनीहरूले दलालले नेपालबाट एउटा सम्झौता गरेर हिँडाएपछि बिचमा बन्धक बनाएर ठुलो रकम असुलेको गुनासो गरे। पीडित युवाले प्रसाद भनिने जनक प्रसाद श्रेष्ठ, आरके भनिने राम कुँवर, आले भनिने याम आले मगरका सहयोगीका रुपमा पर्वतका नारायण श्रेष्ठ, बाग्लुंगका लाल बहादुर कुँवरले काम गरेको भन्दै उनिहरुसँगका भएका आर्थिक कारोबार र भिडियो कुराकानीका प्राप्त भएको छ ।
यसबाहेक दलालले काठमाण्डौका विभिन्न ठाउँबाट बनाएका नक्कली बैङ्क स्टेटमेन्ट, नक्कली मेडिकल रिपोट,तथा नगद तथा बैङ्क कारोबारका भौचरसमेत प्राप्त भएको छ । यसबाहेक दलालले श्रीमानलाई विदेश पठाउन पुगेकी एक महिलामाथि रेस्टुरेन्टमा बोलाएर यौनजन्य हिंसा गरेको भिडियो समेत आर्थिक समाचारलाई प्राप्त भएकाले भिडियोसहितको समाचार प्रतिक्षा गर्नुहोला…

सम्बन्धित
Leave A Reply

Your email address will not be published.