हवाई सुरक्षामा उच्च जोखिम देखिएको भन्दै नलिनचोकबाट उडान नगर्ने पाइलटहरूको निर्णय

हेलिकप्टर पाइलटहरूले नलिनचोकको हेलिपोर्टबाट कुनै पनि उडान नगर्ने बताएका छन् । हवाइ सुरक्षामा उच्च जोखिम देखिएको भन्दै पाइलटहरूले आज (बिहीबार) देखि कुनै पनि उडान नगर्ने निर्णय गरेका हुन् ।

एक हेलिकप्टर पाइलटका अनुसार उड्डयन प्राधिकरण र पाइलटहरुबीच बुधबार भएको बैठकमा नलिन्चोक हेलिपोर्टबाट हुने उडान अवतरण जोखिमपूर्ण भएको र न्यूनतम पूर्वाधारसमेत नभएको भन्दै पाइलटहरुले उडान नगर्ने निर्णय गरेका हुन् ।

सुरक्षा जोखिम न्यूनिकरणका लागि प्राधिकरणलाई असार १६ मा लिखित रुपमै विभिन्न हेलिकप्टर कम्पनीका ४७ जना पाइलटहरुले सुझाव दिएका थिए । ती पाइलटहरुको सुझावलाई प्राधिकरणले वेवास्था गरेको निष्कर्ष पनि पाइलटहरुको छ । सुझावमा हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवा र सुविधा, उडान र अवतरणमा भएको समस्या लगायतका विषयमा समेटिएका थिए । त्यसपछि एक चरणमा प्राधिकरणसँग बसेर छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको एक वरिष्ठ पाइलटले बताए ।

उक्त हेलिपोर्ट प्राधिकरणका महानिलर्देशक प्रदीप अधिकारीले कमिशनका लागि बनाएको आरोप लागिरहेको छ । अधिकारीले उक्त हेलिपोर्टमा पाइलटलाई जबरजस्ती उडान अवतरण गर्न लगाइरहेका छन् । प्राधिकरणले साढे ११ करोड रूपैयाँ लगानीमा उक्त हेलिपोर्ट बनाएको हो ।

प्राधिकरणले उड्डयन सुरक्षामा खेलाँची गरेर हेलिपोर्ट बनाएको, आवश्यक सुरक्षा संयन्त्रसहितका पूर्वाधार बिना नै उडानमा दबाब दिएको सहितका कारण अब उडान गर्न नसकिने निष्कर्ष निकालेको हो । एक वरिष्ठ पाइलटका अनुसार जबसम्म हेलिपोर्टबाट उडान अवतरण गर्नु काठमाडौं विमानस्थलकै जस्तो ढुक्कको सुरक्षित महशुस हुँदैन तबसम्म त्यहाँ जान सकिने अवस्था छैन । उनका अनुसार अहिले नलिनचोक हेलिपोर्टमै सबै हेलिकप्टरहरू ग्राउन्डेड छन् ।

हेलिप्याड र सेक्युरिटी वाल एकदमै नजिक रहेको, आसपासमा ठूला घर रहेकाले टेकअफ र ल्यान्डिङमा समस्या भएको क्याप्टेनहरूको गुनासो छ । टेकअफ र ल्यान्डिङका लागि ७० देखि १०० मिटरको दूरी खाली हुनुपर्छ । हेलिपोर्टमा इन्धन भण्डारणसमेत सञ्चालनमा छैन । हेलिकोप्टर कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्किनमा लगेर इन्धन भर्ने गरेका छन् ।

हेलिपोर्टमा कार्गो र यात्रुलाई चेकजाँच गर्ने स्क्यानर मेसिनसमेत राखिएको छैन । सोही कारण हेलिपोर्टभित्रको सुरक्षा जोखिम बढेको हेलिकोप्टर सञ्चालकको गुनासो छ । हेलिपोर्ट अति संवेदनशील क्षेत्रमा पर्ने हुँदा प्राधिकरणले एउटा पनि अग्नि नियन्त्रणसम्बन्धी उपकरण राखेको छैन ।

भक्तपुरस्थित नलिनचोकमा रहेको यो हेलिपोर्ट दुई साताअघि सञ्चालनमा ल्याइएको हो । असार ७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हेलिपोर्ट उद्घाटन गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.