आजदेखि नयाँ बजेट कार्यान्वयनमा, ३४ प्रतिशत राजस्व बढाउने लक्ष्य

आज (मंगलबार) देखि नयाँ आर्थिक वर्ष (२०८१\८२) सुरू भएको छ।

यस आर्थिक वर्षको लागि सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट ल्याएको थियो। आजदेखि यो बजेट कार्यान्वयनमा आउन थालेको हो।

गत वर्षमा जम्मा १४ खर्ब ८ अर्ब ७६ करोड रुपैयाँको मात्रै बजेट खर्च गरेकोमा यो वर्ष चार खर्ब ३७ अर्ब बढी खर्च हुने अनुमान सरकारको छ।

चालु आर्थिक वर्षको लागि चालु खर्च ११ खर्ब ४० अर्ब रूपैयाँ छुट्याइएको छ। गत वर्ष यस्तो खर्च नौ खर्ब ५२ अर्ब रूपैयाँको मात्रै भएको छ।

चालु आर्थिक वर्षमा विकास बजेट ३ खर्ब ५२ अर्ब विनियोजन गरिएको छ। गत वर्ष यस्तो खर्च एक खर्ब ९१ अर्ब रूपैयाँ मात्रै भएको छ।

त्यस्तै, गत वर्ष दुई खर्ब ६४ अर्ब वित्तीय व्यवस्थापन खर्च भएकोमा चालु वर्षको लागि तीन खर्ब ६७ अर्ब रूपैयाँ विनियोजन गरिएको छ।

चालु वर्षको बजेट कार्यान्वयन गर्न सरकारले गत वर्षको तुलनामा करिब ३४ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

गत वर्ष १० खर्ब ५८ अर्ब रूपैयाँको राजस्व संकलन भएको छ। चालु वर्षको लागि प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने सहित १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।

गत वर्ष यस्तो राजस्व संकलनको लक्ष्य १४ खर्ब २२ अर्ब राखिएकोमा ७४ प्रतिशत मात्रै प्राप्त भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.