राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निकाल्न थालेको १२ वर्षमा जम्मा ४.९ प्रतिशत रकमको मात्रै यस्तो बचतपत्र बिक्री भएको छ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवर्द्धनका उपाय सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो।
राष्ट्र बैंकले पहिलो पटक आर्थिक वर्ष २०६६/६७ देखि बचतपत्र बिक्री सुरू गरेको हो।
आर्थिक वर्ष २०७९/८० सम्मको अवधिमा २५ पटकमा १५ अर्ब ५६ करोड रूपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीको लागि निष्कासन गरिएको थियो। तर, यसमा जम्मा ७६ करोड २३ लाख रूपैयाँ (४.९ प्रतिशत) मात्र बिक्री भएको छ।
विगत १० वर्षमा मुलुकको कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशत मात्र छ।
वैदेशिक रोजगार बचतपत्रमा आकर्षण बढाउन उच्च ब्याजदर तोकिने गरेको छ। सामान्यतया ब्याजदर सोही वर्षको मुद्दति निक्षेपको तुलनामा ०.०१ प्रतिशतदेखि २.४२ प्रतिशतसम्म उच्च देखिन्छ। तर पनि ब्याजदरले बचतपत्र खरिदमा आकर्षण बढाउन सकेको छैन।
वैदेशिक रोजगार बचतपत्र निष्कासनको सुरूको वर्षमा मुलुकमा २ खर्ब ३१ अर्ब रेमिटेन्स भित्रिएकोमा यस अवधिमा यसमा करिब ६ गुणाले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब रूपैयाँ प्राप्त भएको छ। त्यसैगरी, वैदेशिक रोजगारीमा जानेको संख्या ३.२ गुणाले बढेर ५६.८३ लाख पुगेको छ। तर, वैदेशिक रोजगार बचतपत्रको यसको प्रभाव देखिन सकेको छैन।
यो अध्ययनको क्रममा गरिएको सर्वेक्षणमा ७५.५ प्रतिशत म्यानपावर कम्पनीका प्रतिनिधिलाई समेत वैदेशिक रोजगार बचतपत्रबारे जानकारी नभएको पाइएको थियो।
काठमाडौंस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसँग सम्पन्न टेलिफोन सर्वेक्षण गरिएको थियो। त्यस्तै, रोजगारीमा जानेमध्ये ८७.२ प्रतिशतले यस्तो बचतपत्रबारे सोधखोज नै नगर्ने गरेको पाइएको थियो।
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३ सय ८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षण पनि गरेको थियो। यिनमा ३९.५ प्रतिशतसँग यसबारे पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झण्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको उल्लेख गरेका थिए।
त्यस्तै, बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनु पर्ने कारणले पनि रूचि नबढेको बताएका थिए।
बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टहरूसँग पनि राष्टरू बैंकले इमेल सर्वेक्षण गरेको थियो। यस्ता एजेन्टहरूका अनुसार ६२.५ प्रतिशत रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधखोज गर्ने गरे पनि खरिदमा तत्परता नदेखाउने गरेको बताएका छन्।
यस्तो बचतपत्रको बिक्री बढाउन फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत् छोटो भिडिओ क्लपबाट प्रचार–प्रसारमा तीव्रता दिनुपर्ने, बचतपत्रको खरिद–बिक्री पूर्ण रूपमा विद्युतीय माध्यमबाट गराउने र बचतपत्र खरिदको आवेदन दिँदा कागजात सजिलोसँग अपलोड हुने व्यवस्था मिलाउने सुझाव दिएका छन्।
त्यस्तै, वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने व्यवस्था सिडिएससी प्रणालीको मेरो सेयरमा आइपिओ खरिद गर्दाकै प्रक्रिया अनुरूप बनाउने र म्यानपावर कम्पनीहरूको अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगार बचतपत्रको जानकारी दिने व्यवस्था मिलाउने लगायतका सुझाव दिएका छन्।
आह्वान गरिएको बचतपत्र बिक्री नभएसम्म बिक्री खुला राख्न पनि सुझाएका छन्। केहीले भने यस्तो बचतपत्रको ब्याजदर हालको भन्दा कम अवधिमै प्राप्त गर्ने व्यवस्था मिलाउने र व्याज बैंक खातामै जम्मा हुने व्यवस्था गर्न पनि सुझाएका छन्।