भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । अविरल वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान र अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ ।
मंगलबार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले अवतरण हुन समस्या आएको हो ।
यो समाचार तयार पार्दासम्म काठमाडौंबाट टुर्किस्तान एयर डाइभर्ट भएर लखनउ अवतरण गरेको छ । त्यसैगरी एयर इन्डिया, डर्क एयर, दोहा र दुबईबाट आएको हिमालय एयरलाइन्स आकाशमा होल्ड भएका छन् ।
त्यस्तै दिल्लीबाट काठमाडौं आइरहेको इन्डिगो एयरको जहाज पनि होल्ड भएको छ । भैरहवाबाट काठमाडौं आइरेहेको बुध्द एयरको जहाज पनि हेटौंडामाथिको आकाशमा फन्का मारिरहेको छ ।