पर्यटनमन्त्री पाण्डे र कोरियाका पूर्व पर्यटनमन्त्री सहितको टोलीबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोंङबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोंङ सहितको प्रतिनिधि मण्डलले सोमबार पर्यटनमन्त्रीसँग भेट गरेका हुन्।

भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५० औं वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे।

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति, शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे।

त्यसैगरी, मन्त्री पाण्डेले नेपाल र कोरियाबीचको हवाई भाडा महँगो भएको विषयमा आम जनगुनासो रहेको ध्यानाकर्षण गराए। यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपालमा कोरियाबाट बर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्यांक छ।

कोरियाका पूर्वमन्त्री युजिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताए।

उनले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तो समेत दिए। साथै उक्त भ्रमणले नेपालमा कोरियाली पर्यटक भित्रिनेमा विश्वास समेत व्यक्त गरे।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.