बुद्ध एयरले बिदा गर्‍यो एटीआर जहाज,एउटै विमानबाट १८ लाख यात्रुलाई सेवा

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक बुद्ध एयरले ७० हजार उडान साइकल पूरा गरेपछि मंगलबारदेखि एउटा नाइन एन एआईएन कलसाइनको एटीआर ४२ जहाजलाई विधिपूर्वक बिदा गरेको छ ।

उडान साइकल सकिए पछि कम्पनीले १८ लाख यात्रु बोकेको यो जहाजको औपचारिक रुपमा बिर्दा गरेको हो । उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ ।

सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान शुरु गरेको उक्त जहाजले मंगलबार अन्तिम माउन्टेन फ्लाइट गरेको थियो ।१६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका थिए।

उक्त जहाज कम्पनीले नै ४० हजार घण्टा उडाएको छ भने नेपाल आउनु अद्धिघ नै यसले ३० जहार घण्टा उडान गरिसकेको थियो । यो जहाजको कति पाटपूर्जा काम लाग्छन् त्यसलाई निकाल्ने, जहाजको बडी निकाल्ने र काम लाग्नेलाई प्रयोग गर्ने र नलाग्नेलाई स्क्राप गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार जहाजको आयु सकिएकोले अब यसलाई विस्थापित गरिएको हो ।विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि गर्न पाइदैन ।

कम्पनीले सन् २००८ मा अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) को ऋण सहयोगमा दुई वटा एटीआर–४२–३२० जहाज नेपाल ल्याएको थियो । उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षको अवधिमा कम्पनीले १९ वटा एटीआर जहाजहरु ल्याएर घरेलु बजारमा उडान गरिरहेको छ । कम्पनी एटीआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बनेको छ।

कम्पनीले १६ वर्ष ३ दिने उडानका क्रममा उक्त जहाजले १८ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीको भनाइ छ ।कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले जहाजलाई बिदा गर्ने क्रममा एटीआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको बताए ।

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिती थियो । कम्पनीले हाल दैनिक १५० भन्दा बढि उडानमार्फत दशौं हजार यात्रुलाई सेवा प्रदान गरिरहेको बताएको छ ।

कम्पनीले घरेलु उडानतर्फ पोखराबाट नेपालगञ्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान गरिरहेको छ भने धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ । यसैगरी, अन्तरराष्ट्रिय उठानतर्फ भने कम्पनीले साताको ३ दिन भारतको वाराणसी उडान गर्दै आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.