होटल एभरेस्ट र बसेरालाई विभागले तिरायो तीन-तीन लाख जरिबाना

काठमाडौं । होटल एभरेस्ट र बुटिक होटल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अनुगमनका क्रममा किचनमा म्याद गुज्रेका सामान फेला परेको छ ।

बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो ।  दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिबाना तिराइएको विभागको भनाइ छ । विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।

केही दिनअगाडि होटल संघ नेपाल (हान) ले विभागबाट होटलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफू मातहतका ३ सयभन्दा धेरै होटलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.