पुटिनले खोजे डलरको विकल्प, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको आह्वान

पुटिनले ब्रिक्स शिखर सम्मेलनमा अमेरिकी डलरको राजनीतिक हतियारका रूपमा प्रयोग रोक्न वैकल्पिक अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको आह्वान गरेका छन्। रुसको कजान सहरमा भएको शिखर सम्मेलनमा पुटिनले यस्तो आब्हान गरेका हुन्।

उनले भने, “डलरलाई हतियारको रूपमा प्रयोग भइरहेको छ। यो ठूलो गल्ती हो।”

उनले रुस र चीनबीच ९५ प्रतिशत व्यापार रुबल र युआनमा हुँदै आएको बताए। रुसले स्विफ्ट प्रणालीलाई बाइपास गर्न नयाँ भुक्तानी संरचना निर्माणमा पनि काम गरिरहेको छ।

तर डलरको प्रभुत्व हटाउने प्रयासले केही सदस्यहरू, विशेष गरी ब्राजिल र भारतलाई, असहज बनाएको छ, किनभने उनीहरू चीन समर्थक र पश्चिमविरोधी समूहमा बदलिन चाहँदैनन्।

पुटिनले संगठनमा सामेल हुन इच्छुक दक्षिणी देशहरूको चासोलाई बेवास्ता गर्नु गलत ठान्दा, भारत र ब्राजिलले संगठनलाई पश्चिमविरोधी गठबन्धन बन्न नदिने प्रयास गरेका छन्। गत वर्ष दक्षिण अफ्रिकामा आयोजित सम्मेलनपछि पाँच सदस्यबाट बढेर नौ पुगेको ब्रिक्सको विस्तारमा ब्राजिलको विशेष भूमिका रहेको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भने, “धेरैले विश्वलाई मित्र र शत्रुमा विभाजन गर्न चाहन्छन्, तर कमजोर राष्ट्रहरूलाई द्वन्द्वभन्दा बढी उनीहरूलाई खाना, रोजगारी, र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाहरू चाहिन्छ।”

नयाँ सदस्यहरूमा क्युबा, बोलिभिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, इन्डोनेसिया, बेलारुस, टर्की, नाइजेरिया, युगान्डा, काजाकिस्तान, र उजबेकिस्तानलाई समावेश गरिने अपेक्षा गरिएको छ। टर्कीको सहभागिताले विशेष ध्यान खिचेको छ, किनभने यो नेटोको सदस्य हो।

युरोपियन काउन्सिल अफ फरेन रिलेशन्सकी विशेषज्ञ अगाथे डेमाराइसका अनुसार, “हालको अवस्थामा ब्रिक्सका वित्तीय उपकरणहरूको विश्वव्यापी विकास र व्यापक अपनाउने कल्पना गर्नु कठिन छ। अन्तर्राष्ट्रिय मुद्रा प्रणालीमा अमेरिकी डलरको प्रभुत्व व्यापारिक लेनदेन र विदेशी मुद्रा भण्डार दुवैसँग गहिरो रूपमा गाँसिएको छ। विश्वव्यापी व्यापारको ८० प्रतिशत भन्दा बढी कारोबार डलरमै गरिन्छ, र केन्द्रीय बैंकहरूको लगभग ६० प्रतिशत रिजर्भ पनि डलरमै रहेको छ।”

17Shares
facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button
सम्बन्धित
Leave A Reply

Your email address will not be published.