‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट

समस्याग्रस्तउन्मुख कम्पनीको सेयरमूल्यमा धमाधम पोजेटिभ सर्किट लाग्न थालेको छ। धितोपत्रको दोस्रो बजारमा कारोबारमा रहेको कर्णाली विकास बैंकलाई मंगलबार मात्रै नेपाल राष्ट्र बैंकले समस्याउन्मुख भन्दै ६ महिनाका लागि कारबाही गरेको थियो।

कारबाहीको सूचना प्रसारित भएसँगै दोस्रो बजारमा उल्टो सोही कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्नपुगेको छ।

बुधबार कारोबारमा आएका ३१६ वटा कम्पनीमध्ये ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको थियो जसमा कर्णाली विकास बैंक पनि छ।

यो बैंकको खराबकर्जा ४१ प्रतिशतमाथि पुगेको भन्दै राष्ट्रबैंकले मंगलबारमात्रै कारबाही गरेको थियो। राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई ६ महिनाका लागि निक्षेप संकलन र कर्जा प्रवाह दुवै गर्नलाई रोक लगाएको थियो।

कारबाहीमा परेकै भोलिपल्ट सोही कम्पनीको सेयरमा लगानीकर्ताको भीड देखिन पुग्यो। यो दिन लगानीकर्ताले २० करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच गरेका छन्। कारोबारका आधारमा पनि आज यो कम्पनी सातौ स्थानमा देखिएको छ।

कारबाहीको डण्डामा परेकै दिन सेयर किन्न लगानीकर्ताको भीड लाग्दा यो कम्पनीको सेयरमा आज कित्तामै ७६ रुपैयाँले बढ्न पुगेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.