अमेरिका र भारतमा नेपाली चियाको लोगो दर्ता

इलाम नेपाली चियाको सामूहिक प्रतीक चिह्न (लोगो) भारत र अमेरिकामा पनि दर्ता भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कायकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले चियाको लोगो भारत र अमेरिकामा पनि दर्ता भइसकेको जानकारी दिएका हुन् । चिया उत्पादनको १९७ वर्षपछि चियाको लोगो सार्वजनिक गरिएको र यससँगै अमेरिका र भारतमा दर्ता भएको उनले बताए । उनले भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसके पनि सम्झौतासम्बन्धी आधिकारिक दस्तावेज प्राप्त हुन बाँकी रहेको बताए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा भट्टराईले यो जानकारी दिएका हुन् । इलाम नगरपालिका २ मा रहेको चिया बिस्तार आयोजना जस्बिरेमा भएको कार्यक्रममा उनले अब ५० रोपनीभन्दा बढी जमिनमा चिया रोप्ने किसानलाई ५० प्रतिशत अनुदान दिइने बताए । चिया खेतीतर्फ युवालाई आकर्षण गर्न यो कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
विश्व बजारमा नेपालको चिया नेपाली लोगोमै जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले यसको तयारी थाल्न किसानलाई उनले आग्रह समेत गरे । चियाको राम्रो मूल्य नपाएर छटपटाइरहेका किसानका लागि समेत आउने वर्षबाट विशेष योजना बोर्डले अघि सार्ने उनको भनाइ छ । बढी चिया उत्पादन हुने केही क्षेत्रमा चियाको न्यूनतम समर्थन मूल्य तोक्ने गरिएको छ । तर त्यो लागू नहुँदा किसान भने समस्यामा छन् । एक पटक तोकिएको चियाको समर्थन मूल्य वर्षैभरी रहँदा समेत समस्या भएकाले आउने वर्षबाट चियाको मूल्य सिजनअनुसार तीन तरिकाले वर्गीकरण गरिने उनको भनाइ छ । चिया उत्पादनको मुख्य सिजन, मध्य बर्खा र चिया टिपाइको अन्त्यको सिजनको गरी तीन पटक चियाको समर्थन मूल्य तोकिने उनले बताए ।
चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक भट्टराईले विश्व बजारमा नेपालबाट चियाभन्दा कफीको बढी माग आउने गरेको बताए । उनले नेपालमा वार्षिक ६ टनमात्र कफी उत्पादन हुने गरेको भए पनि १९ टन कफीको माग रहेको बताए । सरकारले ५० बजार कफीका बिरुवा उत्पादन गर्ने र यो किसानलाई ५० प्रतिशत अनुदानमा दिने योजना छ । अनुदानका कार्यक्रम प्रस्ताव पेश गरेर भन्दा पनि व्यावहारिक ढंगले वितरण गरिने उनले बताए ।
५० रोपनीभन्दा बढी जमिनमा चिया र ५० हजारभन्दा बढी कफीका बिरुवा भए अनुदानका लागि बोर्ड आफैँले गठन गरेको समितिमार्फत सिफारिस गर्ने उनको भनाइ छ । चियाको विकास र बिस्तारमा बोर्डले नयाँ नयाँ खालका कार्यक्रम ल्याएको भन्दै चिया किसानहरुलाई नआत्तिन समेत उनले आग्रह गरे । हाल इलामबाट मात्र अनुदानमा चियाका लागि १९ जना र कफीका लागि ९ जना किसानले प्रस्ताव पठाएको उनको भनाइ छ । इलाम जति चियामा उत्पादनका हिसावमा प्रख्यात त्यो भन्दा वढि उत्पादन कफीसमेत गर्न सकिने बोर्डको गरेको सर्वेक्षणमा उल्लेख छ ।
इलाम नगपालिकाका प्रमुख महेश बस्नेतले विश्व बजारमा चियाको जति धेरै माग बढ्छ उत्ति नै गुणस्तरीय चिया उत्पादनमा किसान लाग्नुपर्ने धारणा राखे । १९२० मा तत्कालिन बडाहाकिम गजराजसिंह थापाले इलाममा चिया रोपण गरेर लगाएको गुन तिर्न चिया रोपेकै स्थानमा उनको शालिक निर्माण गरिएको उनको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.