आकर्षक पर्यटकीय गन्तव्य बन्दै शिवासन क्षेत्र

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

पाल्पा जिल्लाको बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीको महामृत्युञ्जय शिवासन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ।
महामृत्युञ्जय शिवासन क्षेत्रमा १४ फिट उचाइ, आठ फिट चौडाइको शिवको मूर्ति स्थापना गरेपछि धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै गएको हो।
तीनहजार ३०० किलोग्राम शुद्ध तामा र पित्तलको ध्यान मुद्रामा शिव देवताको मूर्ति स्थापनाले आन्तरिक पर्यटक आकर्षण गर्ने स्थल बन्दै गएको हो।
यस क्षेत्रमा प्रत्येक शनिबार ५० देखि ५५ जनासम्म पर्यटक देखिने गरेको महामृत्युञ्जय शिवासन क्षेत्र विकास समितिका अध्यक्ष माधव बस्यालले बताए। विश्वको सबैभन्दा ठूलो मूर्ति स्थापनाको चर्चाले आन्तरिक पर्यटक चहलपहल बर्सेनि बढेको हो।
तानसेनदेखि चिलाङ्दी भञ्याङ्ग, चापपानी बराङ्दी, खानीगाउँ हुँदै रानीमहल जाने सडक रहेकाले महामृत्युञ्जय शिवासन क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीय बासिन्दा बताउँछन्।
महामृत्युञ्जय शिवासन क्षेत्रमा शिवदेवको विशाल मूर्ति, नवदेवश्वर महाशिवको लिङ्ग, अखण्ड शान्तिदीप र अखण्ड शान्ति धुनी रहेको छ।
बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीका भीम बस्यालको अगुवाइमा अमेरिकामा बस्ने पाल्पालीको झन्डै एक करोड आर्थिक सहयोगमा २०७० सालमा विशाल मूर्ति स्थापना भएको हो ।
“हामीले गुगलमा खोजी गरेर पनि हेरेका छौँ, ध्यान मुद्रामा यति ठूलो मूर्ति देखिएको छैन, त्यसैले यो मूर्ति विश्वकै ठूलो शिव देवको मूर्ति हो,” बस्यालले भने– “आन्तरिक तथा बाह्य पर्यटकको आगमन दैनिकरुपमा बढेको छ र विशेष गरी भारतबाट मुक्तिनाथ दर्शनका लागि हिँडेका बाबा महामृत्युञ्जय शिवासन क्षेत्रमा एकरात बिताउन रुचाउँछन् ।”
शिवासन क्षेत्रमा धर्मशाला, वृद्धाश्रम, अनाथालय, वैदिक पाठशाला, शौचालयलगायतका संरचना निर्माण गर्ने लक्ष्य रहेको समितिको दाबी छ।
यस्ता संरचना नेपाल मण्डप शैलीमा निर्माण हुने र भौतिक संरचनाले पर्यटकको ध्यान तान्न सफल हुने स्थानीय बासिन्दा कृष्ण भुसालले बताए।
यस क्षेत्रमा कमण्डलु, बसाहा, घन्ट, त्रिशूलसमेत विश्वका ठूलो बनाउने लक्ष्य छ । महाशिवरात्रिको अवसरमा शिवको मूर्तिको ११ मुरी, ११ पाथी, ११ माना शुद्ध गाईको दूध चढाउने चलन छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.