इशान स्मार्ट सिटीको प्रस्तावलाई फेरि क्याबिनेटमा लैजाने सहरी विकास मन्त्रालयको तयारी

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँमा प्रस्तावित चार स्मार्ट शहरमध्ये इशान सहर निमार्णको प्रस्ताव पुनः क्याबिनेटमा लैजान गृहकार्य सुरु गरेको छ । ३ वर्ष अघि मन्त्रिपरिषद्‌मा पेश भएको इशान नयाँ सहर निर्माणसम्बन्धी प्रस्ताव अघि नबढेपछि प्रस्तावित योजनाको पुनरावलोकन गरी नयाँ प्रस्ताव अघि बढाउन मन्त्रालयले तयारी थालेको हो ।

उक्त आयोजनालाई अघि बढाउने विषयमा आइतबार भएको बैठकमा सहरी विकास मन्त्री धनबहादुर बुढाले इशान नयाँ शहरसम्बन्धी प्रस्तावलाई एक महिनाभित्र भौतिक पूर्वाधार समितिमा पेश गर्न निर्देशन दिएका छन् ।

गत साता इशान नयाँ सहर आयोजनाको प्रगति अनुगमन गर्न गएका मन्त्री बुढालाई स्थानीयवासी र जनप्रतिनिधिले लामो समयदेखि स्मार्ट शहरको लागि भन्दै जग्गा रोक्का गरेका कारण नागरिकले निकै कष्ट बेहोर्नुपरेको भन्दै जतिसक्दो छिटो आयोजना निर्माणको कामलाई अघि बढाइदिन आग्रह गरेका थिए ।
२०७८ सालमा मन्त्रालयले पेश गरेको उक्त आयोजना निर्माण सम्बन्धी प्रस्ताव अर्थको सहमति नहुँदा मन्त्रिपरिषद्‌बाट अघि बढ्न सकेको छैन । मन्त्री बुढाले उक्त आयोजनामा भएको ढिलाइले सर्वसाधारण नागरिकले हैरानी खेप्नुपरेको भन्दै एक महिना भित्रमा भौतिक पूर्वाधार समितिको बैठकबाट पारित गरेर मन्त्रिपरिषद्मा पेश गर्ने गरी काम गर्न उपत्यका विकास प्राधिकरणसहित सम्बद्ध कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

मन्त्री बुढाले नयाँ सहर निर्माणसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो मन्त्रिपरिषद्‌बाट पास गराउन पहल गर्ने भन्दै इशानबाटै नयाँ सहर निर्माणको थालनी गर्नुपर्नेमा जोड दिए । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले इशान नयाँ सहर निर्माणसम्बन्धी मौजुदा प्रस्तावलाई अघि बढाउन ठोस मोडालिटी बनाएर अघि बढ्ने बताए ।

सचिव गेलालले आयोजनाको ब्लक प्लान बनाएर लागत मूल्याङ्कनसहित स्रोत व्यवस्थापनका लागि पहिले नै अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने उल्लेख गरे । काठमाडौँ उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले इशान नयाँ सहर निर्माणका लागि विभिन्न विदेशी कम्पनीहरूले समेत चासो देखाएको भन्दै स्रोत व्यवस्थापनका लागि समस्या नहुने दाबी गरे ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.