कमलादीको ‘स्काई वाक भ्यू टावर’ एक महिनापछि सञ्चालनमा आउने

कमलादीको ‘स्काई वाक भ्यू टावर’ को निर्माण कार्य सम्पन्न भएको छ । वन्डर्स नेपालले २०७६ सालमा नेपालमै पहिलोपटक स्काई टावर बनाउने निर्णय गरेको थियो । सोहीअनुसार कम्पनीले अहिले निर्माण कार्य सम्पन्न गरेको हो ।

कम्पनीका प्रोजेक्ट म्यानेजमेन्ट डाइरेक्टर सन्जिव रोकाले टावरको निर्माण कार्य सम्पन्न भएको बताए । निर्माण कार्य सम्पन्न गरिसकेको हुनाले अर्को महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए ।

कम्पनीले साढे १३ रोपनी जग्गामा ७८ मिटर उचाइको टावर बनाएको छ । उक्त टावर २८ वर्षको लागि जग्गा भाडामा लिएर बनाएको कम्पनीले जनाएको छ । कम्पनीले टावर निर्माणका लागि १ अर्ब १३ करोडमा सम्झौता गरेको थियो । तर, कोरोना महामारीले निर्माण कार्य निकै प्रभाव परेको र निर्माण सामाग्रीको उच्च मूल्य बढ्दा लागत निकै बढेको उनको भनाइ छ ।

‘कम्पनीले १ अर्ब १३ करोडमा सम्झौता गरेको थियो । तर, बजारमा अधिकांश वस्तुको मूल्य बढ्दा सम्झौताको लागतभन्दा ६५ करोड बढी खर्च भएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिलेसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ खर्च भइसकेको छ ।’

कम्पनीले निर्माण गरेको टावरमा वाकको व्यवस्थासँगै व्यापार व्यवसाय गर्न चाहनेहरुको लागि सटरको व्यवस्था गर्ने जनाएको छ । व्यवसायका लागि ३ वटा तलालाई भाडामा लगाउने योजना बनाएको उनले बताए ।

‘कम्पनीले अहिले व्यवसायका लागि औपचारिक रुपमा बुकिङ खुला गरेको छैन । अबको केही दिनमै सार्वजनिक सूचना निकालेर नै बुकिङ खुला गर्ने तयारी गरेको छ,’ उनले भने ।

कम्पनीले व्यवसायिक प्रयोजनका लागि ३८ वटा सटर तयार गरेको छ । अहिले सटर बनाउने काम पूर्ण रुपमा नसकिएको र सम्पन्न भएपछि बुकिङ खुला गर्ने कम्पनीको तयारी छ ।

टावरमा चढ्न एक हजार रुपैयाँको टिकट

आगामी महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको स्काई टावरबाट काठमाडौं शहर अवलोकन गर्न कम्पनीले एक हजार रुपैयाँको टिकटको मूल्य तोकेको छ । उक्त स्काई टावरबाट काठमाडौंको दृष्यलाई अवलोकन गर्न सक्नेछन् ।

कम्पनीअनुसार उक्त भ्यू टावरबाट एक पटकमा ५ सयको हाराहारीमा मानिसहरुले अवलोकन गर्न सक्नेछन् भने दैनिक ४ हजारदेखि ४५ सयसम्म अवलोकन गर्न सक्ने क्षमतामा निर्माण भएको कम्पनीले जनाएको छ । ७८ मिटर अग्लो टावर चट्नका लागि लिफ्टको व्यवस्था हुनेछ । अवलोकन गर्न बनाइएको टावरको टपमा सिसामा हिँड्दा मानिसहरुले छुट्टै अनुभूति गर्ने कम्पनीको भनाइ छ ।

त्यसैगरी, भ्यू टावरको भुई तल्लामा बगैंचा, रेष्टुराँ तथा पार्किङको व्यवस्था हुनेछ । कम्पनीकाअनुसार सो टावरमा बन्दै गरेको रेष्टुरेन्टमा १ सय जना अट्नेछ भने सबैभन्दा माथि टपमा स्काई वाक हुनेछ ।

स्काई वाक टावरमा ११ जना लगानीकर्ता छन् । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ भने स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.