कर्णाली करिडोरको १२२ किमि सडक निर्माण

जुम्ला-कर्णालीको जीवनरेखा गौरवको आयोजना कर्णाली करिडोरको १ सय २२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।
कालिकोटको हुल्म हुँदै हुम्लाको सल्लीसम्मको १ सय २२ किमि सडक निर्माण सम्पन्न भएको हो । माथिल्लो कर्णालीलगायत सुर्खेत, दैलेख, कालिकोट, बाजुरा हुँदै हुम्ला जिल्लालाई चीनको उत्तरी नाकासँंग जोडेर व्यापारिक सम्बन्ध नयाँ उचाइमा पु-याउने लक्ष्यका साथ निर्माणाधीन कर्णाली करिडोरको निर्माणमा उल्लेखनीय प्रगति भइरहेको छ ।
प्रधानमन्त्री कार्यालयका विकासविज्ञ इन्जिनियर गजेन्द्र थपलियाले गए साता कर्णाली करिडोरको प्रगतिबारे स्थलगत उच्चस्तरीय अवलोकन भ्रमण गरेका छन् । करिडोरको निर्माण गतिलाई हेर्दा दशकौंदेखिको कर्णालीबासीको सडक सपना अब केही महिनाभित्रै पूरा हुने थपलियाले बताए । करिडोरको १ सय २२ किमि सडकको स्थलगत अनुगमन गरेका इन्जिनियर थपलियाले कर्णाली करिडोर निर्माणकार्य अन्तिम चरणमा पुगेको उल्लेख गरे ।
प्रधानमन्त्रीको सचिवालयले मुलुकको पूर्वाधार विकासलाई चारैतिरबाट अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएकाले कर्णाली करिडोरको निर्माणले कर्णालीमा विकासको आयाम थपिएको उनको भनाइ छ ।
कडा चट्टान फोड्दै नेपाली सेनाले जोखिम मोल्दै १ सय २२ किमि सडक कुसलतापूर्वक निर्माण गरेकोमा विकासविज्ञ थपलियाले सेनाको प्रशंसासमेत गरेका छन् । अब छिट्टै चीनसँंग व्यापारिक सम्बन्ध बढ्ने, कर्णालीको आर्थिक विकासले गति लिने र चीनबाट कर्णालीले प्रत्यक्ष लाभ लिनेसमेत आशा गरिएको छ ।
विकास विज्ञ थपलियाले कर्णाली करिडोरसँंगै कर्णाली राजमार्ग, नाग्म–गमगडी सडकको समेत निरीक्षण गरेका छन् । सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले कर्णालीको पूर्वाधार विकासमा प्रधानमन्त्रीका विकास विज्ञको विशेष चासो गरेको बताए । उनले भने, “पहिलो पटक करिडोरको १ सय २२ किमि सडकको उच्चस्तरीय स्थलगत अनुगमन भएको छ । अब हुम्ला जोड्न करिब १६ किमि मात्रै बाँकी छ भने करिडोरको दु्रत विकासले समृद्धिको आशा पलाएको छ ।”
साथै,जुम्ला सदरमुकाममा इतिहासमै पहिलो पटक १० मिटर चौडा सडक कालोपत्रे भएकोमा समेत प्रधानमन्त्रीका विकास विज्ञले खुसी व्यक्त गरेका छन् । साथै कर्णाली राजमार्गको स्तरबृद्धि तथा नाग्मगमडी सडकको कालोपत्रेका लागि विकास विज्ञ थपलियाले चासो दिएको भण्डारीले बताए । भण्डारीले थपे, “अस्थिर राजनीति र लगानी अभावले लक्ष्यअनुसार निर्माण नभएको करिडोरको सेनाले जिम्मा लिँदा गति लिएको थियो । जोखिम मोल्दै कडा चट्टान फोडेर सेनाले कर्णालीलाई चीनसँंग जोड्न दिएको योगदान सह्रानीय रहेको छ ।”
प्रधानमन्त्री केपी शर्मा ओली सरकारले राष्ट्रिय गौरव तथा दीर्घकालीन महत्वका रणनीतिक सडकमा प्रत्यक्ष निगरानी गर्न थालेपछि कर्णाली करिडोर निर्माणले गति लिएको थियो । राष्ट्रिय राजमार्गमा नजोडिएको हुम्लासहितका आसपास जिल्लाका करिब ४० प्रतिशत जनता यो करिडोरबाट लाभान्वित हुने भएका छन् ।
कर्णाली करिडोरको विकासले हुम्लाको सर्केघाट, अदानचुली, ताजाकोट गाउँपालिका बाजुराको हिमाली, जगन्नाथ गाउँपालिका बूढीनन्दा नगरपालिका कालिकोटको पचलझरना, सान्नित्रिवेणी, नरहरिनाथ, कालिका गाउँपालिका रासकोटका दुर्गम बस्ती सडकसँंग जोडिने भएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.