कोरोनाको प्रभाव : डामाडोल शैक्षिक स्तर

कोरोनाको प्रभाव : डामाडोल शैक्षिक स्तर

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा सम्पूर्ण विश्वकै अर्थतन्त्र डामाडोल पारेको अवस्थामा यस्तो प्रकोपबाट हाम्रो जस्तो सानो विकासोन्मुख देश पनि यसको चपेटामा पर्नुका साथै यसले देशको शैक्षिक स्तरमा समेत एकदम नराम्रो असर पारेको छ । विद्यार्थीहरूको पढाइ तथा शैक्षिक स्तरमा प्रतिकूल असर पारेको छ । विगत नौ महिनाअघिदेखि कोभिड–१९ को प्रकोपबाट सुरक्षित हुनका लागि बन्द रहेको शैक्षिक सेवा, सरकारी तथा गैरसरकारी संस्थाहरू, होटल, रेस्टुराँ, पार्टी प्यालेस, यातायात सेवाहरू तथा अन्य सेवासुविधाका कार्यालयहरू अहिले बिस्तारै–बिस्तारै गरेर खुलिसकेका छन् । जनजीवन सामान्यजस्तो बनिसकेको छ । घरबाट बाहिर गइसकेपछिको बाहिरी परिवेश हेर्दा लाग्दैन कि अझै पनि कोरोनाको प्रकोप छ नेपालमा । शैक्षिक सेवाहरू आंशिक रूपमा खोलिएको छ । अनलाइनको माध्यमबाट धेरैजस्तो पढाइ हुने गरेको छ भने कुनै–कुनै शैक्षिक संस्थाहरू स्वास्थ्यको मापदण्ड पालना गरेर खुल्न थालिसकेका छन् । तर, सबै अभिभावकहरूसँग अनलाइनको माध्यमबाट आफ्ना सन्तानहरूलाई पढाउन सक्ने क्षमता हुन्छ भन्ने छैन ।
महिनावारी पारिश्रमिक लिने, सरकारी तथा अन्य गैरसरकारी कार्यालयमा कार्यरत र आफ्नै व्यवसाय हुनेहरूलाई इन्टरनेटको प्रयोग गरेर आफ्नो सन्तानहरूलाई शैक्षिक सुविधा दिनु र पाठशालाको शुल्क तिर्नु कुनै ठूलो कुरा भएन । तर, जसले दैनिक ज्याला–मजदुरी गरेर आफ्नो परिवारको पेट पालेका हुन्छन् त्यस्ता अभिभावकहरूलाई अहिलेको समयमा दैनिकी टार्न मुस्किल परेको अवस्थामा त्यस्ता अभिभावकहरूले कसरी दिने आफ्ना बालबालिकाहरूलाई अनलाइनबाट पढ्ने सुविधा ? के यो सम्भव छ र निम्न वर्गीय परिवारहरूका लागि ? के यसले विद्यार्थीको मनस्थितिमा नराम्रो असर पार्दैन र ? आफूसँगै पढ्ने साथीहरू अर्को सालमा नयाँ कक्षामा पढ्न जाँदा उनीहरूको मनोभावमा कस्तो असर पर्ला ?
यतिका महिनासम्म घरमै थुनिएर दिनभर टिभी, मोबाइल र इन्टरनेट तथा विभिन्न सामाजिक सञ्जालहरूको अधिक रूपमा प्रयोग गर्ने बानी बसेको कारणले उनीहरूमा पढ्नेलेख्ने क्षमतामा ह्रास आएको प्रत्यक्ष देख्न सकिन्छ । उनीहरूमा पढाइलेखाइभन्दा पनि अधिक रुचि अहिलेको समयमा विद्युतीय उपकरण तथा इन्टरनेटमा रहेका विभिन्न एप तथा खेलहरूमा रहेको छ । बच्चादेखि वयस्कसम्मको उमेर समूहका विद्यार्थीहरू कि त टिकटक, फेसबुक, फ्री फायर खेल, पब जी तथा अन्य एपहरूको प्रयोग गर्नमा आफ्नो समय खर्च गरिरहेका हुन्छन् । सानासाना नानीबाबुहरूसमेत अहिले मोबाइल नहेरी नसुत्ने, नखाने भइसकेका छन् । उनीहरूलाई पढ्ने–लेख्ने कुरा गरेमा उनीहरू चिडचिड हुने गरेको धेरै अभिभावकले गुनासो गरेको सुनिन्छ । अधिकतम समय मोबाइल चलाउने बानी बसेकाले उनीहरूमा एकोहोरोपन भएको जस्तो हुन थालिसक्यो । सम्पूर्ण ध्यान मोबाइलमा दिने हुनाले उनीहरू बोल्नसमेत झर्को मानिरहेका हुन्छन् । अझ महत्वपुर्ण कुरा त अनलाइन र स्कुलमा गएर पढ्नेहरूलाई त केही फरक पर्दैन, तर जसले यी दुईमध्ये कुनै पनि माध्यमबाट अध्ययन गरेका छैनन् उनीहरूको एक बर्षको पढाइ पछि परेको छ । त्यसैले सरकारले कि त सम्पूर्ण शैक्षिक संस्थाहरू खुलाउने प्रबन्ध गर्नुपर्छ, कि त सम्पूर्ण सर्वसाधारणको पहुँच पुग्ने गरी शैक्षिक सेवासुविधाको विकास गर्नुपर्छ । जसले गर्दा सम्पूर्ण विद्यार्थीहरूले नियमित रूपमा पढ्न पाऊन् र कोही पनि शिक्षाको ज्योतिबाट एक वर्ष पछि धकेलिन नपरोस् ।
जसरी राष्ट्रको अर्थतन्त्र बिस्तारै–विस्तारै उकासिन खोज्दैछ, त्यसरी नै सबैतिर शिक्षाको ज्योति पनि सम्पूर्ण विद्यार्थीहरूले पाउनुपर्छ । यस विषयमा सरकार तथा अभिभावकहरूको ध्यानाकर्षण गराउन एकदम जरुरी छ । समयको सदुपयोग राम्रो उपलब्धिमा गरांै । अनावश्यक रूपमा इन्टरनेट र विद्युतीय सञ्जालको प्रयोग गरेर आफ्नो बहुमूल्य समयको दुरुपयोग नगरांै ।