गुणस्तर तथा नापतौल विभागभित्रकै पानी गुणस्तरहीन, अशुद्ध पानीले कसरी हुन्छ गुणस्तर परीक्षण?

आर्थिक समाचार

वैशाख १२ ,काठमाडौँ।

नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ ।
सर्वसाधारणले प्रयोग गर्दैआएको सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने पानी शुद्ध छैन । विभागका निर्देशक दीपक ज्ञवालीले प्रयोगशालाभित्र प्रयोग गरिने पानीमा एमोनिया, आइरनलगायत पदार्थ मिसिँदा काम गर्न समस्या आएको बताए ।

उनले भने, “पानीमा विभिन्न किसिमका पदार्थ मिसिँदा काम गर्न ढिला हुनुका साथै मेसिनको काम गर्ने क्षमता घटेको छ ।”विभागमा हाल रसायन, खाद्य, सूक्ष्म जीव परीक्षण, कपडा र भौतिक गरी पाँच प्रयोगशाला सञ्चालनमा छन् ।

तीमध्ये रसायन र खाद्य प्रयोगशालामा प्रयोग गरिने पानी अति शुद्ध हुनुपर्छ । पानी शुद्ध नहुँदा छ छ  महिनामा कार्टिज बिग्रने र कार्टिज फेर्नसमेत रु दुई लाखभन्दा बढी लाग्ने गरेको उनले बताए।

विभागमा रहेका पाँच प्रयोगशालामध्ये रसायन प्रयोगशालाले वार्षिक एक हजार, खाद्य प्रयोगशालाले वार्षिक पाँच सय, खाद्य, सूक्ष्म जीव परीक्षण प्रयोगशालाले वार्षिक एक सय, टेक्टाइल प्रयोगशालाले वार्षिक दुई हजार, भौतिक प्रयोगशालाले वार्षिक एक हजार सामानको नमुना परीक्षण गर्दे आएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनी नेपालको नापतौल मान्यता अन्तर्राष्ट्रियस्तरको भए पनि यसको सही प्रयोग गर्न नसक्दा समस्या परेको बताउँछन्। उनले भने, “उपभोक्ताले गुणस्तरीय वस्तु सेवा प्राप्त गरून् भन्नेमा हामी सजग छौँ ।” पुडासैनीले विभागको प्रयोगशालामा जाँच भएका सामान विदेशमा गएर जाँच गर्न नपर्ने समेत बताए। उनका अनुसार बोरिङको पानीमा गुणस्तरीय नहुँदा यन्त्र बिग्रने र पाइप लाइनमा जाम हुने गरेको छ ।
Leave A Reply

Your email address will not be published.