चार्टर्ड एकाउन्टेन्टलाई अर्थमन्त्रीको यस्तो निर्देशन

अर्थमन्त्री डा युवराज खतिवडाले व्यावसायिक प्रतिष्ठानले थोरै कर तिर्नुपर्ने गरी लेखा विवरण तयार नगर्न लेखा परीक्षकहरुलाई निर्देशन दिएका छन्। सरकारले वित्तीय क्षेत्रमा सुशाशन र पारदर्शी कर प्रशासनको अवधारणा अघि बढाएको भन्दै मन्त्री खतिवडाले कुनै किसिमको मोलाहिजालाई स्थान नदिइने स्पष्ट पारेका छन्।
व्यावसायिक प्रतिष्ठानहरुको वासलातमा कम नाफा देखाउने र राज्यलाई तिर्नुपर्ने कर थोरै पार्ने प्रवृत्तिप्रति इंगित गर्दै खतिवडाले लेखा परीक्षण व्यवसाय पारदर्शी हुनुपर्ने बताएका हुन्। ‘यहाँ कर्पोरेट क्षेत्रबाट पनि प्रतिनिधि हुनुहुन्छ, लेखा व्यवसायी पनि हुनुहुन्छ। करमा भार कम पर्ने काम गर्नुभएन,’ खतिवडाले भने।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)को वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले व्यवसायीले ‘फेयर बिजनेश’ गर्नुपर्ने भन्दै लेखा परीक्षकले पनि ‘फेयर अकाउन्टिङ’ गर्नुपर्ने बताए। ‘हामी सबैतिर पारदर्शिता चाहन्छौँ,’ उनले भने, ‘सबै क्षेत्रबाट सरकारलाई सहयोग पुग्ने गरी काम होस्।’
आइक्यान नियमनकारी निकाय पनि भएकाले उसले आवस्यक पर्दा नियामकीय अधिकार प्रयोग गर्न डराउन नहुने उल्लेख गरे। ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्न यहाँहरु पनि डराउनु हुँदैन,’ उनले भने।
अर्थमन्त्री खतिवडाले लेखा व्यवसाय पनि संक्रमणकै अवस्थामा रहेको भन्दै अब बन्ने लेखा परीक्षण ऐनले त्यसलाई थप व्यवस्थित गर्ने पनि जानकारी दिएका छन्। अहिलेको लेखा परीक्षण जोखिममा आधारित हुने गरेको भन्दै उनले त्यसलाई थप प्रभावकारी बनाउनेतर्फ सोच्नुपर्ने बताए।
आइक्यानको यस अधिवेशनले अबको एक वर्षका लागि जगन्ननाथ उपाध्याय निरौलालाई अध्यक्ष चयन गरेको छ। यस्तै संस्थाको उपाध्यक्षमा कृष्णप्रसाद आचार्य निर्विरोध निर्वाचित भएका छन्।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.