जलस्रोतमा विश्वकै धनी राष्ट्रमा खानेपानी आयातको उदेकलाग्दो तथ्यांक, बिदेशबाट वार्षिक करोडौंको पानी आयात

काठमाडौं । जलस्रोतमा विश्वकै दोस्रो धनी देशका रुपमा चिनिने नेपालमा बिदेशबाट खानेपानी पनि आयात हुन्छ भन्ने सुन्दा धेरैलाई उदेक लाग्ला । तर, विश्वकै सबैभन्दा उत्कृष्ट पानीको स्रोत (हिमालबाट बग्ने नदीहरु) समेत भएको नेपालमा अहिले पनि वार्षिक करोडौं रुपैयाँको खानेपानी आयात भइरहेको देखिन्छ ।

विश्वलाई नै खानेपानी निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्न सक्ने अवसर भएपनि नेपालमा विभिन्न मुलुकबाट पानी आयात हुने गरेको तीतो यथार्थ हाम्रा सामु छ । झट्ट सुन्दा पत्यारलाग्दो नभएपनि सरकारी तथ्यांककै आधारमा पछिल्लो ५ बर्षमा मात्रै झण्डै ७ करोड रुपैयाँ बराबरको पानी आयात भएको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार आर्थिक बर्ष २०७२-७३ यता मात्रै नेपालले ६ करोड ९९ लाख ९१ हजार ६ सय ३८ रुपैयाँ बराबरको पानी आयात गरेको हो ।

केन्द्रका अनुसार नेपालले हालसम्म सबैभन्दा धेरै मिनरल वाटर भने बेलायतबाट आयात गरेको हो । बेलायतबाट नेपालले पछिल्लो ५ बर्षमा ७७ लाख ६५ हजार रुपैयाँ बराबरको खानेपानी आयात गरेको हो ।

नेपालले हाल बेलायत, भारत, थाईल्याण्ड, जर्मनी, फ्रान्सलगायत २६ देशबाट खानेपानी आयात गर्ने गरेको टीईपीसीको तथ्यांकमा उल्लेख छ । तर पछिल्लो समय नेपालमा आयात हुने पानी भने व्यवसायीक रुपमा भन्दा पनि विभिन्न दुतावासका अधिकारीहरुले आफुलाई प्रयोगका निम्ती ल्याउने गरेको भन्सार विभागले जानकारी दिएको छ ।

विभागका सूचना अधिकारी शिसिर घिमिरेका अनुसार २०७२ सालमा नेपालमा आएको भूकम्पमा बढी मात्रामा बाहिरबाट राहतको रुपमा मिनरल वाटर आएको थियो । त्यसपछि भने विभिन्न एम्बेसीहरुले आफ्नो प्रयोगका लागि उताबाट आउँदा आफ्नो सामानसँगै पानी पनि ल्याउने गरेका छन् । तर पछिल्लो समय त्यो ट्रेन्ड घट्दै गएको उनको दावी छ ।

तर टीईपीसीको तथ्यांकमा आर्थिक बर्ष २०७२÷७३ मा भने यस्तो पानी विभिन्न देशबाट १ करोड ८४ लाख ९५ हजार रुपैयाँ बराबरको आयात भएको थियो । त्यसपछि भने आर्थिक बर्ष २०७३-७४ मा भने उक्त आयात घटेर करिव १ करोड ३१ लाख रुपैयाँ बराबर पुगेको थियो । तर चालु आर्थिक बर्षको ७ महिनामा भने ३ लाख ८० हजार रुपैयाँ बराबरको मात्रै खानेपानी आयात भएको छ ।

यस्तै टीईपीसीका अनुसार आर्थिक बर्ष २०६५-६६ सालदेखि नेपालमा विदेशबाट मिनरल वाटर आउन थालेको थियो । हालसम्म नेपालमा ९ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको पानी आयात भएको देखिन्छ । नेपालमा हालसम्म विभिन्न सोडा मिसाइएको, नमिसाइएको, गुलियो मिसाइएको, मिनरल वाटरलगायत विभिन्न शीर्षकमा पानी आयात हुने गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.