ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने ट्याक्सी चालकविरुद्ध मुद्दा

मदिरा सेवन गरी गतराति भाडाको ट्याक्सी चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारबाहीका लागि सम्बन्धित वृत्तहरूमा पठाएको छ।

काठमाडौंको सुकेधाराबाट गतराति ९ बजे पक्राउ परेका बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनारलाई महाराजगञ्ज वृत्त पठाइएको छ।

यस्तै, काठमाडौंको कीर्तिपुरबाट बा २ ज ६५४ नम्बरको ट्याक्सी चलाउँदै गरेका ललितपुर उपमहानगरपालिका ९ बस्ने ४६ वर्षीय राजेन्द्र महर्जनलाई पनि गतराति साढे ९ बजे नियन्त्रणमा लिएर प्रहरीवृत्त कीर्तिपुर बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएका उनीहरूलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए। प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ।

सार्वजनिक सवारीसाधनका चालकहरूले मापसे गरेर सवारीसाधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटना रोक्नका लागि ट्राफिक चेकजाँचलाई तिव्रता दिइएको समेत प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.