नबिल–एनबी बैंक मर्जः बिहीबारसम्म सम्पूर्ण प्रक्रिया टुंग्याइँदै

नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीच एक आपसमा गाभिने (मर्ज) प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको सेयर उद्योगपति विनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने सहमति जुटेपछि दुई बैंक मर्जमा जाने प्रक्रिया अघि बढेको हो ।

केही समयअघि आईएफआईसी बैंक र चौधरीबीच खरिदबिक्री सम्झौता (सेल्स पर्चेच एग्रिमेन्ट) भएको थियो । आईएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको ४१.९१ प्रतिशत सेयर एउटै व्यक्ति वा समूहलाई बेच्न चाहेको र नेपाल राष्ट्र बैंकमा पनि सोहीअनुसार अनुरोध गरेको थियो । केन्द्रीय बैंकले पनि चौधरीलाई बंगलादेशी बैंकको सेयर किन्न दिने संकेत गरेपछि दुई बैंक मर्जतर्फ उन्मुख भएको एनबी बैंकका एक  अधिकारीले बताए ।

नबिलसँग मर्ज हुने पक्का भएपछि बिहीबार आईएफआईसीका प्रतिनिधिहरू नेपाल आउँदै छन् । सोही दिन नेपाल बंगलादेशको सञ्चालक समितिको बैठक पनि डाकिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको कार्यकाल पनि सकिन लागेको र आफू रहँदै दुई बैंक मर्ज गराएर विदा हुने उनको इच्छा छ । सोहीअनुसार उनी पनि नबिलसँग मर्जको लबिङमा छन् ।

आईएफआईसीको सेयर कसले किन्ने भन्ने टुंगो नलागेकाले मर्ज हुने वा नहुने अन्यौल बढेको थियो । अब सारिका चौधरीले उक्त सेयर किन्ने पक्कापक्की भइसकेकाले अब नबिलसँग मर्ज हुने दुवै बैंकका उच्च अधिकारीहरू बताउँछन् । स्रोतका अनुसार यो साताभित्र एनबी नबिलसँग मर्ज हुने वा नहुने भन्ने पनि टुंगो लाग्छ ।

राष्ट्र बैंकदेखि एनबी बैंकको मूख्य सेयरधनी बंगलादेशको आईएफआईसी बैंकसम्म कुराकानी गरेर सबै मिलाउने जिम्मा चौधरीले नबिलका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज ज्ञवाली र एनबी बैंकका सीईओ ढुंगानालाई दिइएको थियो । उनीहरूकै अग्रसरतामा सेयर सेल्स पर्चेच एग्रिमेन्टदेखि नबिलसँग मर्जसम्म गराउन जुटेका थिए ।

एनबीको बंगलादेशी साझेदार आईएफआईसी बैंकले आफ्नो सबै सेयर बिक्री गर्ने प्रक्रिया थालेको थुप्रै भइसक्यो । गएको असार २९ गते एनबीको संस्थापक सेयर बिक्रीका लागि बंगलादेशको आईएफआईसी बैंकले सूचना प्रकाशित गरेको थियो । त्यस बेला उसले सेयरको मूल्य भने खुलाएको थिएनन् । बैंकका अर्का संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठ समूहले खरिदका लागि प्रस्ताव पेस गरेको थियो ।

मंसिर २ गते सम्पन्न साधारणसभाले १२ प्रतिशत अर्थात् १ अर्ब ८ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसपछि बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यसअघि उसले एनबीमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक बिक्रीको प्रस्ताव गरेको हो । बोनस सेयर वितरणपछि आईएफआईसीकाे सेयर संख्या बढेको छ ।

बंगलादेश बैंकसँग मर्जरमा गएमा उसका केही सम्पतिहरू छन् । त्यसको लाभ नबिलले लिन सक्ने छ । अन्य सञ्चालन खर्च तुलनात्मक रूपमा कम भएका कारण त्यो लाभ पनि प्राप्त हुने छ । एनबीले पनि राम्रो प्रतिफल दिन थालेकाले मर्जरपछि नबिलको लाभांश दिने क्षमता अर्काे ४/५ वर्ष थप २० प्रतिशत बिन्दुले बढ्ने अनुमान नबिल बैंक पक्षका अधिकारीहरूले गरेका छन् ।

हिमालयन र नेपाल इनभेस्टमेन्ट बैंक मर्ज  प्रक्रियामा गएकाले नबिललाई कुनै एक वाणिज्य बैंकलाई मर्ज  गर्न ठूलो दबाब छ । दोस्रो बजारमा बैंकको सेयर मूल्य ३७५ रुपैयाँ छ । एनबीको बजार पुँजीकरण ३७ अर्ब ८२ करोड रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.