नयाँ वर्षमा मोटरसाइकल किन्दै हुनुहुन्छ? यस्ता छन् छुट तथा उपहार

आर्थिक समाचार

काठमाडौं, २५ चैत ।

मोटरसाइकल अहिले मध्यमवर्गीयको आवश्यकता नै बनिसकेको छ। अझ काठमाडौं, पोखरा, धरान, नारायणगढ, बुटवल लगायतका व्यस्त शहरमा मोटरसाइकल बिना आवतजावतमा निकै कठीनाइ हुन थालेको छ।
सडक जाम, सार्वजनिक सवारी साधनको व्यवस्था राम्रो नहुनु, मन लागेको समयमा हिँड्न पाउने, धेरै महंगो नपर्नु र आजभोलि कम्पनीले किस्तामा पनि उपलब्ध गराउने जस्ता कारणले मोटरसाइकलको लोकप्रियता बढेको छ।
लोकप्रियता र प्रतिस्पर्धा बढेसँगै कम्पनीहरुले पनि ग्राहक आकर्षण गर्न चाडपर्व तथा विशेष दिनहरुको अवसर पारेर बिभिन्न छुट, सुविधा तथा योजनाहरु ल्याउने गरेका छन्।
अहिले पनि बजारमा ग्राहकलाई सुविधा दिन कम्पनीहरुको होडबाजी लागेको छ। नयाँ वर्ष २०७४ आउँदै गर्दा ग्राहकले अन्य समयमाभन्दा केही छुट तथा उपहारसहित मोटरसाइकल किन्ने मौका पाएका छन्।
कुन कम्पनीले कस्तो सुविधा ल्याएका छन्?
बजाज:
नेपालमा अधिक बिक्री हुनेमध्येको बजाज मोटरसाइकलको अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७४ का लागि नगद छुटसहितको विशेष योजना ल्याएको छ। ‘सुन्दर रमणीय नेपाल, घुमौं बजाजसँग तराई, पहाड र हिमाल’ भन्ने नारासहित नयाँ वर्षमा पर्यटनलाई समेत प्रवद्र्धन गर्नेगरी योजना ल्याएको कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्दा हरेकले तत्काल ७ हजार ४ सय रुपैयाँ नगद छुट पाउनेछन्। त्यसपछि ग्राहक स्वतः कम्पनीले चलाएको लक्की ड्रमा समावेश हुनेछन्।
जसमार्फत् एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानको भ्रमण गर्न ७४ हजार रुपैयाँ भ्रमण खर्च जित्न सक्ने कम्पनीले जनाएको छ। बजाजको यो अफरले नेपालमै पनि विभिन्न घुम्ने ठाँउहरु छन् र जहाँ सडक छ त्यँहा बजाज पुग्न सक्छ भन्ने कुरालाई प्रतिनिधित्व गरेको कम्पनीको माकेटिङ हेड पुनम सिंहले जानकारी दिइन। बजाजका नेपालमा पल्सर सिरीजका र भी १५ मोटरसाइकल निकै लोकप्रिय छन्।
यामाहा :
नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ८ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद छुटको योजना ल्याएको छ। ‘विश काउन्ट’ नाम रहेको यो योजनामा यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै आठ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन्। साथै, हरेक साता हुने लक्की ड्रमा ग्राहकले एक लाख रुपैयाँसम्मको बम्पर उपहार पाउने मार्केटिङ म्यानेजर विनोद महर्जनले जानकारी दिए।
त्यस्तै कम्पनीले आफ्ना मोटरसाइकल तथा स्कुटरमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा ल्याएको छ।
महिन्द्रा :
महिन्द्रा टु–व्हीलर्सको आधिकारिक वितरक अग्नि मोटो इन्कले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ‘नयाँ वर्षमा यसपाली, स्क्र्याच् गरौं दुईताली’ नामक योजना बजारमा ल्याएको छ। यो योजना अन्तर्गत महिन्द्रा स्कुटर तथा मोटरसाइकल खरिदकर्ताका लागि ४ सय प्रतिशतसम्म क्यासब्याक बोनसको अवसर रहेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार हरेक खरिदमा पाउने स्क्र्याच कार्डमा दुई पटकसम्म स्क्र्याच गर्न सकिने व्यवस्था छ। पहिलो स्क्र्याचमा  ग्राहकले १ लाखसम्म र दोश्रोमा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर दिइने कम्पनीलका सेल्स हेड प्रत्युस श्रेष्ठले जानकारी दिइ।
होन्डा  :
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ वर्षको अवसरमा नगद पुरस्कार योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले प्रत्यक होन्डा मोटरसाइकलको खरिदमा स्क्र्याचकार्ड मार्फत ४ हजारदेखि १ लाखसम्म जित्न सक्नेछन्। त्यस्तै कम्पनीले ५ वर्षको फ्रि सर्भिसिङ र स्पेयर पाटसर््मा ५ वर्षसम्म १० प्रतिशत छुट दिएको छ।
सुजुकी:
सुजुकी मोटरसाइकलको लागि आधिकारीक विक्रेता भिजि अटोमोबाइल्स प्रालीले पनि नयाँ वर्षको अवसरमा अफ्ना ग्राहकहरुलाई उपहारको योजना ल्याएको छ। यो योजना अन्तर्गत सुजुकीका मोटरसाइकल र स्कुटर खरिद गर्नेले सामसुङ २३ इन्चको एलइडी टेलिभिजन प्राप्त गर्ने कम्पनीका मार्केटिङ म्यानेजर प्रतिक घिमिरेले जानकारी दिए।
Leave A Reply

Your email address will not be published.