नाफामा एनआइसी एशियाको छलाङ, प्रतिसेयर आम्दानी घट्यो

काठमाण्डौ ।

एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ ।

बिहीबार सार्वजनिक भएको सो बैंकको चौमासिक बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड नाफा कमाएको यो बैंकले यो आर्थिक वर्षमा नाफालाई बढाएर १ अर्ब ४६ करोड पुर्याएको हो ।

यो अवधिमा बैंकले खूद ब्याज आम्दानी २ अर्ब ५३ करोड ८२ लाख गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खूद ब्याज आम्दानी १ अर्ब ९५ करोड ७७ लाखमा सीमित थियो । खूद ब्याज आम्दानीमा बैंकले मारेको यो छलांगले उसले आर्थिक वर्ष २०७३/७४ मा व्यवसाय वृद्धिमा महत्वपूर्ण सफलता हात पारेको बुुझ्न सकिन्छ ।

बैंकले यो अवधिमा ८६ अर्ब ६९ करोड निक्षेप संकलन गरी ७१ ऋर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यो अवधिमा ६९ अर्ब ४८ करोड निक्षेप संकलन गरी ५८ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकले यो अवधिमा १ अर्ब ६९ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको संचालन नाफा १ अर्ब ३६ करोड मात्र थियो ।

बैंकले यो अवधिमा निस्क्रिय कर्जालाई समेत घटाएको छ । अघिल्लो वर्ष ०.७६ प्रतिशतमा रहेको एनपिएल यो वर्ष घटाएर ०.३६ प्रतिशतमा झार्न बैंक सफल भएको छ ।

एनआइसी एशिया बैंकको प्रति सेयर आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा २८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर यो वर्ष २२ रुपैयाँमा झरेको हो । १५२.१५ रुपैयाँ प्रतिसेयर नेटवर्थ कायम गरेको यो बैंकको मूल्य आम्दानी अनुपात २०.२६ गुणा रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.