निगमले २ अर्बमा किनेको ६८ बिघा जग्गा प्रयोगविहीन

नेपाल आयल निगमले आठ वर्षअघि किनेको जग्गा प्रयोगविहीन भएको छ। निगमले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँमा खरिद गरेको ६८ बिघा जग्गा हालसम्म उपयोगमा ल्याउन सकेको छैन।

निगमले २०७३/७४ मा रूपन्देही, चितवन, सर्लाही र झापा क्षेत्रमा खरिद गरेको थियो। उक्त जग्गाको समुचित उपयोग नगर्दा लगानी खेर गएको भन्दै महालेखा परीक्षकको कार्यालयले समेत प्रश्‍न उठाएको छ।

निगमले दीर्घकालका लागि विभिन्न योजना बनाउँदै तत्काल आवश्यक ठानी खरिद गरेको जमिन हालसम्म उपयोगमा ल्याउन तदारुकता देखाउन सकेको छैन। आफ्नो स्वामित्वको जग्गाको संरक्षण र उपयोग गर्नेतर्फ पनि कदम चालेको देखिएको छैन।

महत्त्वाकांक्षी योजना अघि सारेर हतारमा खरिद गरिएको जग्गालाई समुचित उपयोग र संरक्षण नगर्दा प्रश्‍न उठेको छ। सर्लाहीको जग्गामा एलपीजी ग्यास बोटलिङ प्लान्ट बनाउने र चितवन र झापाको जग्गामा पाइपलाइन विस्तार गर्ने योजना थियो। तर काम सुरु नै नभएकोमा महालेखा प्रतिवेदनले प्रश्‍न गरेको छ।

निगमले भने रूपन्देहीमा योजनाअनुसार जग्गा अपर्याप्त भएकाले अझै पेट्रोलियम पदार्थ भण्डारणका लागि पूर्वाधार बनाउने काम अगाडि बढाउन बाँकी रहेको जनाएको छ। पोखरामा ७७ रोपनी जग्गामध्ये करिब १८ रोपनी जग्गा स्थानीय बासिन्दाले खेल मैदान तथा बाटो प्रयोग गरिरहेका छन्।

सर्लाहीको लालबन्दी-१ स्थित जग्गामा तारबार नहुनाले स्थानीयले सडक निर्माण गरेका छन्। साथै, धनकुटास्थित जग्गा र भवन रेडियो नेपालले प्रयोगमा ल्याएको छ। तर, त्यसबाट बहाल रकम असुल भएको छैन।

झापाको चारआलीस्थित जग्गामा तारबार नभएकाले अतिक्रमणको जोखिम रहेको, जनकपुरस्थित जग्गाको अधिकांश भू-भाग नेपाली सेनाको प्रयोगमा रहेको र थानकोटस्थित जग्गामा समेत पूर्ण रूपमा तारबार छैन।

पाइपलाइनबाट पेट्रोल ल्याउने काम अझै सुरु भएन

भारतको बिहार मोतिहारी र नेपालको अमलेखगञ्ज जोड्ने पाइपलाइनको निर्माण कार्य पुरा भइ सञ्चालनमा आएकाले पेट्रोलियम पदार्थको ढुवानी सहज, सुरक्षित र छिटो बनाएको छ।

तर यो वर्ष निगमले डिजलका अतिरिक्त सोही संरचनाबाट पेट्रोलसमेत आपूर्तिका लागि एक भारतीय कम्पनीलाई १ अर्ब २३ करोड १८ लाख पेस्की दिएकोमा उक्त कार्य शुरु भएको छैन।

उक्त परियोजनामा नेपाल सरकारको १ अर्ब २० करोड र भारत सरकारको ३ अर्ब २० करोड समेत गरी ४ अर्ब ४० करोड लगानी रहेको छ।

पाइपलाइनको प्रयोग तथा संरक्षण निगमले गर्दै आइरहे पनि हालसम्म स्वामित्व हस्तान्तरण नभएकाले स्थिर सम्पत्तिमा लेखांकन समेत हुन सकेको छैन।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.