नेपाल एयरलाइन्सले पायो खतराजन्य सामग्री बोक्ने लाइसेन्स

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गरिएको छ ।
सोमबार पर्यटन मन्त्रालयमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले उक्त प्रमाणपत्र प्रदान गरेका हुन् । महानिर्देशक क्षेत्रीले धेरै वर्षअघि हुनुपर्ने काम सम्पन्न गरिएको भन्दै कार्यान्वयन पक्षमा कमजोरी हुन नदिन निगमका अधिकारीहरूलाई आग्रह गरे ।
पछिल्लो समय विश्वभर नै एयरलाइन्सहरूले खतराजन्य सामग्री र पदार्थहरू (डेन्जरस गुड्सहरू) पनि बोक्न थालेका छन् । यस्ता सामग्रीहरूलाई नौ भागमा वर्गीकरण गरिएको छ । नियामक निकायले आफ्नो देशका एयरलाइन्स कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि यस्ता सामान बोक्न योग्य रहेको प्रमाणीकरण गर्छ ।
यही प्रक्रिया अन्तर्गत अहिले नेपाल वायुसेवा निगमले इतिहासमै पहिलो पटक क्यानबाट खतराजन्य पदार्थहरू ओसारपसार गर्ने प्रमाणित एयरलाइन्सका रूपमा प्रमाणपत्र पाएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली ध्वजावाहक जहाजलाई नाफामा पु-याएरै छाड्ने बताए । उनले अहिले पनि ५० अर्बभन्दा पनि बढी ऋण रहेको भन्दै निगमको खर्च घटाएर नाफामा लैजाने धारणा राखे । त्यस्तै मन्त्री आलेले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेर खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र पाएको भन्दै व्यवसायीहरूलाई सिधै सामान ल्याउन सहज हुने र राज्यलाई पनि नाफा हुने उल्लेख गरे ।
त्यस्तै नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीले निगममाथि आएका दायित्व गम्भीर भएर पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.