नेप्से स्थिर, सिएचडिसीको मूल्यमा उछाल

ब्रोकर कमिसन घट्ने खबरसँगै बढेको बजारमा यसको प्रभाव क्षणिक देखिएको छ। मंगलबारबाट ब्रोकर कमिसन १० प्रतिशतको दरमा घटेको थियो। यही खबरका कारण लगातार पाँच दिन बढेको बजार बुधबार घट्यो भने बिहीबार स्थिर देखिएको छ।

बिहीबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ मा पुगेपछि बजार बन्द भएको छ। बजार स्थिर रहेपनि कारोबार रकम भने बढेको छ। कारोबार रकम करिब १५ प्रतिशतले वृद्धि भएर चार अर्ब २३ करोड रूपैयाँ पुगेको छ। बुधबार तीन अर्ब ६८ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

बिहीबार पनि लघुवित्त कम्पनीहरूको कारोबारमा सुधार आएको छ। बिहीबारको बजारमा लघुवित्त र टेलिमक सूचीकृत ‘अन्य’ समूहमा मात्रै सुधार आएको छ। लघुवित्त समूहको करिब चार प्रतिशतले वृद्धि भएको हो। यो समूहका चार कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म वृद्धि भएको छ।

यो दरमा मूल्य बढ्नेमा हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सृजनशील लघुवित्त र स्वाभिमान लघुवित्त छन्। सबैभन्दा धेरैले मूल्य बढ्ने ३० कम्पनीमा २६ वटा लघुवित्त छन्। केही समय अघिसम्म समस्यामा देखिएका लघुवित्त कम्पनीहरूको वित्तीय विवरणमा सुधार देखिएसँगै बजारमा यसको प्रभाव देखिएको हो।

विकास बैंक र वित्त कम्पनी समूहमा सबैभन्दा धेरै एक प्रतिशत बढीले कमि आएको छ। यसदिन कुल तीन सय १५ वटाको सेयर कारोबार भएकोमा एक सय २१ वटाको मूल्य बढेको छ भने एक सय ७७ वटाको मूल्य घटेको छ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सिएचडिसी)को सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। यो कम्पनीको मात्रै ४३ करोड ९० लाख रूपैयाँको कारोबार भएको हो। यसदिन भएको कुल कारोबार रकमको आधारमा यो १० प्रतिशतभन्दा धेरै हो।

कम्पनीको करिब १० प्रतिशतले मूल्य बढेको छ। यो कम्पनीको सेयर प्रतिकित्ता आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। वैशाख ३० गते कम्पनीका संस्थापक तथा कर्मचारीको लकिङ अवधि सकिएको थियो। केही समयअघि कम्पनीले ११ प्रतिशत बोनस सेयर दिएको थियो।

हालसम्म एक हजार दुई सय दुई रूपैयाँको उच्च मूल्य कायम गरेको सिएचडिसीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा आठ करोड २५ लाख नाफा कमाएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.