पर्यटकीय क्षेत्र सहलकोट ओझेलमा

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

प्राकृतिक रुपमा निकै सुन्दर हरियाली डाँडाकाँडाले घेरिएको पर्यटकीय सहलकोट क्षेत्रमा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकिरहेको छैन।
सदरमुकाम तानसेनदेखि करिब ७२ किलोमिटर पूर्वमा अवस्थित सहलकोट क्षेत्र प्राकृतिक रुपमा भरिपूर्ण छ। भौतिक पूर्वाधार विकास नहुँदा सहलकोट ओझेलमा परिरहेको छ। पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा र पश्चिम सहलकोटको फेँदीमा रामपुर उपत्यका पर्छ। यहाँबाट धौलागिरि, माछापुच्छ्रे हिमाललगायत दृश्य अवलोकन गर्न सकिन्छ।
यहाँको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई मनमोहित पारिरहेको हुन्छ। सहलकोट क्षेत्रकै चिनारी जुरेलेक, घाँगी गुफा गरी यहाँ करिब ५० को हाराहारीमा गुफा रहेका छन् । तर प्रचारप्रसार भने हुन सकेको छैन। स्थानीयस्तरबाट केही प्रयास भए पनि यसको प्रवद्र्धनमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन।
सुकेकोटमा रहेका गुफाका सम्बन्धमा सरोकारवाला नै बेखबर छन्। सुकेकोट क्षेत्रमा मात्रै मुख्य आठवटा र अन्य कयौँ गुफा भेटिएका छन्। सुकेकोट गाउँभन्दा तलको भागमा चमेरा गुफा रहेको छ। मगर भाषामा घिचिन ओडारका नामले पनि यो चिनिन्छ। यहाँ विभिन्न प्रजातिका चमेरा पाइने गर्छ। झन्डै पाँच सय मिटरको लम्बाइमा फैलिएको यस गुफाको मुहानबाट पसेर पुछारसम्मको भागमा निस्कन मिल्ने बनोट रहेको छ। गुफाभित्र विभिन्नखालका आकृति देख्न सकिन्छ।
त्यस्तै चमेरा गुफाभन्दा केही तल घन्टी ओडार गुफा रहेको छ । एक ठाउँबाट पसेर अर्को ठाउँमा निस्कन मिल्ने घन्टी ओडार गुफाभित्र दुई लाम्चो आकारको ढुङ्गा रहेको छ। त्यस ढुङ्गामा हिर्काउँदा घन्टीको जस्तो आवाज निस्कने हुँदा यस गुफाको नाम घन्टी गुफा रहन गएको स्थानीयवासी श्यामप्रसाद सोती बताउँछन्। यहाँ आउने जो कोहीले पनि ढुङ्गा बजाउने गरेको पाइन्छ । गुफाको लम्बाइ करिब ३० मिटर रहेको छ । गुफाभित्र ५० जनाभन्दा बढी मान्छे बस्न मिल्ने अवस्था छ।
फर्याच पहार गुफा घिचिन ओडारको आडमा रहेको छ । यसमा पनि विभिन्न आकृति देख्न सकिन्छ। सुकेकोट गाउँभन्दा तल्लो भाग पहाडले घेरिएका कारण यहाँ असङ्ख्य मात्रामा विभिन्न गुफा रहेका स्थानीयवासी बताउँछन्। यस क्षेत्रमा पुरानो लाम पहाड गुफा, नाम्सु ख्वाच पहाड गुफा, करङ्चो हुल्मा गुफा, ख्वाच पहाड गुफा र चितुवा मिमडाँडा गुफा रहेको सोतीले बताए।
“गुफैगुफाले भरिपूर्ण रहे पनि विकासले गति लिन नसक्दा यस्ता पर्यटकीय गुफाको महत्व बढाउन सकिएको छैन,” उनले भने। सोतीले यहाँ रहेका अधिकांश गुफाभित्र पसेर अवलोकन गरिसकेको बताए।  प्रचारप्रसार हुन नसक्दा पर्यटकको आकर्षण बढ्न नसकेको उनको भनाई छ।
स्थानीयस्तरबाट नै गुफालाई महत्व नदिँदा ओझेलमा परेको स्थानीय बासिन्दा तिलवीर राना बताउँछन्। ग्रामीण सडकमा सुधार नहुनु, गुफा क्षेत्रमा भौतिक पूर्वाधार विकास नहुनु र यहाँ रहेका पर्यटकीय गुफाको विषयमा स्थानीय बासिन्दा, स्थानीय निकाय मौन रहँदा सहलकोट क्षेत्र ओझेलमा परेको हो । सहलकोटको जुरेमा पनि आठभन्दा बढी गुफा भेटिएका छन्।
भौतिक पूर्वाधार विकास भएको खण्डमा यस क्षेत्रलाई गुफैगुफाको गाउँका नामले देशमै पहिचान स्थापित गराउन सकिन्छ । जसले गर्दा भविष्यमा यहाँ दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक भित्रिँदा गाउँमा आम्दानीको स्रोत पनि बढ्दै जानेछ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.