पूर्वी नाकाबाट चियाको निकासी रोकियो

कहिले अलैंची, कहिले अदुवा त कहिले अम्रिसोको कुचो निकासीमा अवरोध गर्दै आएको भारतले पुनः चियाको पत्ती निकासीमा अवरोध गरेको छ । चिया टिपेर निकासी हुने मुख्य सिजनमा भारतीय भन्सारले निकासी प्रक्रिया बदल्दै चियाको पत्ती निकासीमा रोक लगाएको छ ।

मे २ मा कोलकातास्थित भन्सार विभागले पत्राचार गर्दै अनिवार्य ल्याब टेस्ट गरेर मात्रै चिया आयात गर्न सम्बन्धित भन्सारलाई निर्देशन दिएपछि नेपालबाट जाने सबै ट्रकमा भएको चियाको ल्याब टेस्ट गर्नुपर्ने भन्दै निकासी रोकेको चिया व्यवसायीले बताए ।

जसका कारण नेपालबाट चिया बोकेर भारत छिरेका ११ वटा ट्रक पानीट्यांकी भन्सार परिसरमा थन्किएर बसेका छन् । भारतमा ट्रक रोकिएपछि नेपालका झापा र ईलाममा भारत लैजान ठिक्क पारिएका चिया बोकेका ट्रक पनि रोकिएको झापाका चिया उद्यमी प्रदीप अग्रवालले बताए ।

अग्रवालका अनुसार नेपालबाट चिया बोकेर सुरुमा नै गएका सबै ट्रकलाई विभिन्न कारण देखाएर भारतले रोकेपछि नेपालका अन्य लोड भएका ट्रक त्यसतर्फ गएका छैनन् । यसअघि अर्धवार्षिक रूपमा चियाको ल्याब टेस्ट गर्दै आएकोमा अहिले निकासीका लागि गएका सबै ट्रकको ल्याब टेस्ट गर्नुपर्छ भनेर भारतले रोक्ने बहाना बनाएको व्यवसायी अग्रवाल बताउँछन् ।

‘यसअघि एकपटक ल्याब टेस्ट भएको चियालाई ६ महिनासम्म निकासी गर्न इजाजत दिएको थियोे, त्यसै अनुरूप काम भइरहेकोमा अहिले प्रत्येकपटक ल्याब टेस्ट गर्नुपर्ने बाध्यता सुरु भएको छ’, अग्रवालले भने ।

व्यवसायीका अनुसार चियाको ल्याब टेस्ट कोलकातामा मात्रै हुन्छ । ल्याब रिपोर्ट प्राप्त गर्न करिब दुई साताभन्दा बढी समय लाग्छ । ‘यसले निकासीमा समस्या पैदा गरेको छ’, अग्रवालले भने । पानीट्यांकी भन्सारका डेपुटी कमिस्नर प्रदीपकुमार मौयले कोलकातास्थित भन्सार कार्यालयले नेपाली चियाको ल्याब टेस्ट अनिवार्य गर्न निर्देशन दिएको नेपाली व्यापारीलाई बताए ।

करिब दुई वर्षअघि भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीको दाजिलिङ भ्रमणका बेला दार्जिलिङ टी एसोसिएसनले नेपाली चिया निकासी रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । जसका कारण अहिले आएर भारतले विभिन्न बहाना बनाएर नेपालकोे चिया निर्यातमा समस्या सिर्जना गरेको नेपाली चिया व्यापारीको दाबी छ ।

नेपालबाट ८० प्रतिशत चिया भारत निकासी हुँदा दार्जिलिङको चियाले स्थान नपाएका कारण भारतमा पछिल्लो समय चलखेल सुरु भएको व्यापारी आरोप लगाउँछन् । दार्जिलिङ र नेपालको पूर्वी पहाडी क्षेत्रको भूगोल र मौसम मिल्दोजुल्दो भएकाले नेपाली चिया र दार्जिलिङको चियाको स्वाद लगभग मिल्दोजुल्दो छ । जसका कारण दार्जिलिङ चियाको ख्यातिमा असर पुगेको भन्दै राज्य सरकारले नेपाली चिया रोक्न सुरु गरेको हो ।

अहिले भारतले नेपाली चियामा रोक लगाएपछि चिया कारखानाले नेपालमा हरियो चियापत्ती खरिद गर्नसमेत छाडेका छन् । भारतले पहिलो पटक गएका ६ वटा सीटीसी र पाँचवटा अर्थोडक्स चियाको ट्रक नै रोकेपछि त्यसमा रहेका चियासमेत कुहिने अवस्थामा पुग्न लागेको चिया उद्यमी प्रदीप अग्रवालले बताए ।

चिया लोड भएको सात दिनभित्र बिक्री गरिसक्नु पर्छ । चिया तथा कफी विकास बोर्डको फिक्कलका अनुसार झापा, इलाम, पाँचथरलगायत जिल्लामा वार्षिक रूपमा करिब अढाइ करोड किलो तयारी चिया उत्पादन हुने गरेको छ । जसमध्ये ५० प्रतिशत सीटीसी र ९० प्रतिशत अर्थोडक्स चिया भारत तथा तेस्रो देश निकासी हुन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.