पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्कालै फिर्ता लिन यातायात व्यवसायीको माग, नलिए आन्दोलन

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्कालै  फिर्ता लिन माग गरेको छ। 

बिहीबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

‘सरकारले बेच्ने तेलको स्वचालित भन्दै मूल्यवृद्धि गरिएको छ।  हाम्रो पनि  वैज्ञानिक भाडादर भनिएको वर्षौदेखि समायोजन गरिएको छैन। पार्टपुर्जादेखि सबै कुराको मुल्य बढेको छ,’ महासचिव सरोज सिटौलाले भने, ‘मूल्यवृद्धि फिर्ता नलिए तुरुन्तै बैठक डाक्छौं, एउटा निर्णय गरेर अघि बढ्छौं।’

सवारी साधनसँग सम्बन्धित चेसिस, पार्टपुर्जा र लुब्रिकेन्टस लगायतमा अत्यधिक मूल्यवृद्धि भएको तर  कर, रुट इजाजत, दस्तुर, जाँचपास, बीमा, प्रिमियम लगायत सरकारबाट कुनै राहत, छुट, सुविधा उपलब्ध नगराएको व्यवसायीहरुले गुनासो गरेका छन्।

सरकारबाट २०६५ फागुन २० गतेदेखि लागू हुने गरी प्रत्येक आर्थिक वर्षमा भाडा अनिवार्य रूपमा स्वतः यातायात व्यवस्था विभागबाट समायोजन गर्नुपर्ने अवस्था भए पनि हालसम्म नगरिएको उनीहरुको भनाइ छ।

कोरोना कहरको चपेटामा परेका कारण ठूलो  आर्थिक व्ययभार पर्न गइ बैंक किस्ता समेत तिर्न नसकेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तो अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असर गरेको व्यवसायीहरुले बताएका छन्।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरि डिजेल र पेट्रोल २/२ रुपैया प्रतिलिटर मूल्य बढाएको थियो। उक्त मूल्यवृद्धि फागुन ८ गतेभित्र  फिर्ता लिन नेपाल सरकार समक्ष व्यवसायीहरुले अनुरोध गरेका छन्।

फिर्ता नगरिएमा  महासंघको कार्य सम्पादन सचिवालयको बैठक बसी आवश्यक निर्णय गरिने विज्ञप्तिमा उल्लेख छ। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.