बढ्यो भारतबाट बिजुली आयात, माग धान्न ३४५ मेगावाट खरिद

नेपाल विद्युत प्राधिकरणले विद्युतकाे माग धान्न नसकेपछि ३४५ मेगावाट बिजुली भारतबाट आयात गरेकाे छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षात्मा बिजुली बढी भयो भनेर हारगुहार गर्दै आएको प्राधिकरणले माग पूरा गर्न भन्दै अहिले फेरि भारतबाट आयात बढाउन थालेको हो ।

प्राधिकरणले पुसको पहिलो सातासम्म भारतबाट १२७ मेगावाट बिजुली आयात गरेको थियो । तर, सुख्खायाम बढेर आन्तरिक उत्पादन घट्न थालेकाले यो आयातको ग्राफ अझै माथि जाने देखिएको छ ।

सुख्खायाम सुरु भएसँगै नदीमा जलप्रवाह कम भई बिजुली उत्पादन घट्न थालेपछि प्राधिकरणले भारतबाट बिजुली आयात गर्न थालेको हो । अधिकांश आयोजना नदी प्रवाह (रन अफ दी रिभर) छन् ।

प्राधिकरणका अनुसार हाल बिजुलीको माग बढेर १६५० मेगावाट पुगेको छ । विद्युत प्राधिकरणका आयोजनाबाट ५१७, प्राधिकरणका सहायक कम्पनीबाट ३३८ र निजी उत्पादकबाट ४११ मेगावाट बिजुली आपूर्ति भएको छ ।

उत्पादन जडित क्षमता २ हजार मेगावाटभन्दा बढी भइसकेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि  झन्डै ५०० मेगावाट बिजुली बढी भएको थियो । बिजुली बढी भएपछि प्राधिकरणले खपत बढाउन उद्योगहरूलाई बिजुली लिन अनुरोध गर्दै आएको छ । प्राधिकरणले १५० मेगावाट लोड स्वीकृत गरेको छ ।

चालू आर्थिक वर्षमा सरकारले १५०० मेगावाट थपेर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । गत वर्ष माघमा प्राधिकरणले साढे ७०० मेगावाट बिजुली आयात गरेको थियो ।

कुलेखानी मात्र जलाशययुक्त आयोजना हाे । मर्स्याङ्दी र मध्यमर्स्याङ्दीर र माथिल्लो तामाकोसी अर्धजलाशय आयोजना हुन् । यी आयोजनाबाट सुख्खा याममा पनि दैनिक ४ देखि ६ घण्टा बिजुली उत्पादन क्षमता छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.