भेरी बबईमा दोस्रो चरणका काम धमाधम

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोना महामारीकै अवधिमा दोस्रो चरणको कामहरुधमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरणसँगै बाँध तथा विद्युत्गृह निर्माणलाई निरन्तरता दिएको हो ।
 
यही अवधिमा निर्धारित मितिभन्दा एक वर्ष अगावै सम्पन्न भएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रा लि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो । अमेरिकीकम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्म मर्मत–सम्भारको कामभने कोभेकले गर्नुपर्नेछ । 

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको जनाएको छ । हालसम्म लालपुर्जा भएका ४८ परिवारले ५० कित्ता बराबरको मुआब्जा लिएका छन् । आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिन बाँकी रहेको बताए । उनले जिल्ला मुआब्जा निर्धारण समितिको निर्णय अनुसार १२ करोड ३५ लाख वितरण गरिएको जानकारी दिए । 

चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ । गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ । “साइट क्याम्प निर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनका लागि तयारी अवस्थामा छ,” इन्जिनियर पण्डितले रासससंग भने, “बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ ।” बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गर्नुपरेको हो ।  

दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइने छ । यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरु आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ । दोस्रो चरणका संरचना निर्माणमा ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूल संशोधित लागत भने ३३ अर्ब १९ करोड रहेको छ । 

सुर्खेतको भेरीगंगा नगरपालिका ५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङ मार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत कम्पनी स्थापना गरी शेयर बाँडफाड गरिसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.