महङ्गियो नेपालीको भान्छा : दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि १७ प्रतिसतसम्म बढ्दा घट्यो श्रमिकले पाउने तलब

जनताले उपयोग गर्ने दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि १७ प्रतिशतसम्म बढेको छ । नेपाल राष्ट्र बैंकले समग्र मूल्यवृद्धि ३.५६ प्रतिशतमात्रै रहेको बताईरहँदा जनताले उपभोग गर्ने दाल, चालम, तेल, गेडागुडी, फलफुलजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य १७ प्रतिशतसम्म बढेको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो समय राष्ट्र बैंकले समग्र मुद्रास्फितीमा लक्ष्यभन्दा कममै राखेपनि जनताले उपभोग गर्ने वस्तुको मूल्य भने दैनिकजसो आकासिएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ ।
तर २०७६ पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमुहको मूल्यवृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशतले बढेको छ । समीक्षा महिनामा तराईमा सबैभन्दा कम २.८७ प्रतिशत, काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
यसैगरी २०७७ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१८ प्रतिशत रहेको छ । तर अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो ।समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६.२८ प्रतिशत, ६.६५ प्रतिशत र ३.२० प्रतिशत रहेको छ ।
तर जनताले उपभोग गर्ने दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि उच्च भईरहदा कर्मचारी तथा मजदूले पाउने तलव तथा ज्यालादरमा भने उच्च गिरावट आएको छ । २०७७ पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७२ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १०.०४ प्रतिशतले बढेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.