यूकेमा भेटिएको कोरोनाभाइरसको नयाँ रुपले विश्व फेरि आतङ्कित, सेयरबजारबाट पैसा निकाल्नेको लर्को

काठमाण्डौ । यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएसँगै विश्वभर फेरि एकपटक आतंक मच्चिएको छ ।

यूकेमा कोरोनाभाइरसको निकै शक्तिशाली प्रकार देखिएपछि धेरै देशहरुले त्यहाँ हुने उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् । यो विषयमा विश्वभर नयाँ खालको स्वास्थ्य संकट आइपर्ने आँकलन गर्न थालिएको छ ।

बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन्। आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्।

पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ।

यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात् उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ।

तर, कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन।

तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले यूकेमा लन्डनसहित दक्षिण पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन्।

यसै महिनाको शुरूतिर केही नमुनाहरू परीक्षण गर्दा यूकेमा जस्तै कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि डच सरकारले पछिल्लो कदम चालेको हो।

यूकेबाट आउने मानिसहरूबाट नयाँ प्रकारको भाइरस फैलिने जोखिमलाई थप सीमित पार्ने दिशामा युरोपेली सङ्घका सदस्य राष्ट्रहरूसँग मिलेर आउँदा दिनहरूमा उपायहरू पहिल्याउने पनि डच सरकारले बताएको छ।

नयाँ रणनीतिहरू तय गर्न सोमवार युरोपेली सङ्घका राजदूतहरूले आपत्कालीन बैठक गर्दैछन्।

बीबीसीसँग कुरा गर्दै विश्व स्वास्थ्य सङ्गठनकी इपिडिमियोलोजिस्ट मारिया भान केर्कोभले “महामारीको शुरूवातदेखि नै डब्ल्यूएचओका विशेषज्ञहरूले विश्वभरि भाइरसको आनुवंशिक परिवर्तनलाई नियाल्दै आएको“ बताइन्।

के हो भाइरसको नयाँ प्रकार
यूकेका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन्।

इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले विकासक्रमले “स्थिति झन् खराब बनाउने“ बताएका छन्।

यद्यपि कोरोनाभाइरसविरुद्ध खोप दिन थालिएकोले उनले आशावादी कुरा पनि गरेका छन् ।

कोरोना भाइरसको यो नयाँ प्रकारको विषयमा सेप्टेम्बरमै पत्ता लागेको थियो । नोभेम्बरमा लण्डनमा कोरोना भाइरसबाट भएका कुल संक्रमितमध्ये एक चौथाई नयाँ प्रकारबाट भएको थियो । तर, डिसेम्बर अन्त नजिक आइपुग्दा लगभग दुईतिहाई संक्रमणको कारक भाइरसको नयाँ प्रकार पत्ता लागेपछि यसबाट विश्व जगत केही चिन्तित देखिएको हो ।

भाइरसको यो नयाँ भेरिएन्ट नर्देन आयरल्याण्डलाई छाडेर पूरा ब्रिटेनभरि फैलिइसकेको छ । त्यसमध्ये पनि लण्डन, दक्षिण पूर्व इंग्ल्याण्ड र पूर्वी इंग्ल्याण्डमा यसको धेरै संक्रमण पाइएको छ ।

दक्षिण अफ्रिकामा पनि यो फरक खालको भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

समाचारअनुसार ब्रिटेनमा भाइरसको जुन नयाँ प्रकार फेला परेको छ, त्यो निकै परिवर्तन भइसकेको प्रकार रहेको भेटिएको छ । यसको मुख्य कारण यो पनि हुनसक्छ कि यो कुनै रोगीको शरीरमै परिवर्तन भयो, जसको रोग प्रतिरोधी क्षमता निकै कम थियो र जसको शरीरले त्यो भाइरसलाई मार्न सकेन । र, यस्तै रोगीको शरीरमा राज गर्दै त्यो भाइरसले आफ्नो रुप परिवर्तन गर्यो ।

उसो भए भाइरसको यो रुप निकै खतरनाक हुन्छ रु यसको पुष्टि गर्ने आधार फेला परिसकेको छैन, तर यसको फैलावट तीव्र भएका कारण संक्रमणको दर अझै बढ्नसक्छ, जसले हस्पिटलहरुमा भीडभाड बढाइदिनसक्छ ।

समाचारअनुसार हाल तयार भएका भ्याक्सिनले कोभिडको नयाँ प्रकारलाई निस्तेज पार्ने संभावना उच्च छ । क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर रवि गुप्ताले यदि भाइरसलाई म्यूटेट हुन दिइयो भने यसले चिन्ताजनक अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन् । उनको भनाईमा यदि अवस्था यस्तै रहे, भ्याक्सिनको प्रभावबाट भाइरसको नयाँ रुप बच्नसक्छ, जुन विश्व जगतकै लागि निरश खबर हुनेछ ।

खासमा भाइरसले भ्याक्सिनको प्रभावबाट बच्नका लागि आफ्नो रुप परिवर्तन गर्छ, यदि यस्तो भयो भने भ्याक्सिनको प्रभाव नहुनसक्छ र नयाँ प्रकारको संक्रमणले संसारका करोडौंमा डेरा जमाउन सक्छ । यदि यस्तो भयो भने कोरोना भाइरसले पनि फ्लूको रुप धारण गर्नेछ र भ्याक्सिनलाई नियमित रुपमा अपडेट गर्नुपर्ने हुनसक्छ ।

तर, राम्रो र सुखद पक्ष यो हो कि अहिलेसम्म जुन भ्याक्सिन बनेको छ, त्यसमा निकै सहज ढंगले परिवर्तन गर्न सकिनेछ ।

सेयर बजारमा पहिरो


यसैबीच, ब्रिटेनमा कोरोना भाइरसको नयाँ प्रकारको जन्म भएको र तीव्र गतिमा फैलिइरहेको खबरले विश्वका विभिन्न देशका सेयर बजारमा तीव्र गिरावट आएको छ ।

यसैका कारण भारतीय सेयर बजार परिसूचक सेन्सेक्स सोमबार एकैदिन २ हजार अंकले घटेको छ ।

एशियाका अन्य देशका बजारमा पनि भारी गिरावट आएको छ ।

कोरोना भाइरसको नयाँ रुपको तीव्र फैलावटको खबरले यूरोपीय सेयर बजारमा ३ प्रतिशत हाराहारीमा गिरावट आएको छ ।

एशियाली बजारमा पनि उस्तै अवस्था देखिएको छ । निक्केई ४९ अंकले घटेको छ भने एचएसआई १९१ अंकले घटेको छ । निफ्टी ५० यो दिन ४३२ अंकले घटेको छ भने मलेशियाको सेयर बजारमा पनि पहिरो गएको छ ।

लण्डनको सेयर बजार परिसूचक एफटीएसई १०० दुई प्रतिशत, फ्रान्सका सेयर बजार २.६ प्रतिशत, जर्मनीको सेयर बजार परिसूचक ड्याक्स २.७ प्रतिशतले घटेको छ । सिएनएनका अनुसार एयरलाइन्स र हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित कम्पनीका सेयरहरुमा उच्च गिरावट आएको छ । ब्रिटिश एयरवेजको सेयरमूल्य एकैदिन ९ प्रतिशतले घटेको छ ।

निकै ठूलो राहात प्याकेज ल्याउने सहमति भए पनि ब्रिटेनमा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टको प्रभाव अमेरिकी सेयर बजारमा पनि परेको सिएनएनले जनाएको छ । एसएण्डपी ५०० यो दिन १.६ प्रतिशतले घट्यो भने डाउ १.७ प्रतिशत र नेस्डेग ०.९ प्रतिशतले तल झरे ।

लगानीकर्ताहरुले भाइरसको नयाँ प्रकारले फेरि आतंक मच्चाउनसक्ने चिन्ता व्यक्त गर्दै बजारबाट धमाधम लगानी निकाल्न थालेका छन् । यसले विश्व अर्थतन्त्रमा फेरि अनिश्चितताको कालो बादल मडारिने संभावना देखाएको समाचारहरुमा जनाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.