राजस्व संकलनमा अर्थमन्त्री शर्मा असफल, आयकर र भ्याटमा धक्का

अर्थमन्त्री जनार्दन शर्मा लक्ष्यअनुसार कर असुल गर्न असफल भएका छन् । पुँजीगत खर्च गर्ने सवालमा कमजोर देखिएका बेला यसपटक राजस्व संकलनबाट पनि उनलाई धक्का लागेको छ ।

अर्थमन्त्री शर्माले असोजबाट प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने बताएका थिए । यसैगरी अर्थमन्त्री शर्माले पुस २ गते विषयगत मन्त्रालयका सचिवहरुलाई अर्थ मन्त्रालयमा छलफलमा बोलाएर पुस महिनाभित्रमा ३० प्रतिशत बजेट खर्च गर्न निर्देशन दिएका थिए । ३० प्रतिशत बजेट खर्च नभए विनियोजित बजेट रकमान्तर तथा स्राेतान्तर गरिदिने चेतावनी दिएका थिए । तर, आफ्नै निर्देशनमा उनी १ महिनासम्म पनि अडिग हुन सकेनन् ।

चालू आर्थिक वर्षको ६ महिनामा जम्माजम्मी १० प्रतिशत पुँजीगत खर्च गराउन सफल भएका अर्थमन्त्री शर्माले पुस २७ गते पुनः विकासे मन्त्रालयका सचिवलाई डाकी आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्न निर्देशन दिएका थिए ।

यसैगरी राजस्व असुली दोब्बर पुर्याउन निर्देशन दिएका अर्थमन्त्री शर्मालाई राजस्व संकलनमा पनि धक्का लाग्ने देखिएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ९३ प्रतिशत मात्रै आन्तरिक राजस्व संकलन भएको छ । पुससम्ममा २ खर्ब ४१ अर्ब ७१ करोड रुपैयाँ कर असुल गर्ने लक्ष्य राखिएकामा २ खर्ब २५ अर्ब ४७ करोड रुपैयाँ मात्रै संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको पुस महिनामा स्वास्थ्य सेवा कर मात्रै लक्ष्यअनुरूप संकलन भएको छ । त्यसबाहेकको आयकर, भ्याट, अन्तःशुल्क, घरबहाल कर, ब्याज कुनै कर असुली लक्ष्यअनुसार संकलन हुन सकेन ।

पुसमा विभागले ८९ अर्ब ९२ करोड कर असुल गर्ने लक्ष्य राखेकोमा ७० अर्ब ११ करोड रुपैयाँ मात्रै असुली भएको छ । जुन लक्ष्यको ७८ प्रतिशत मात्रै हो ।

यस्तै पुसमा आयकर ६४ अर्ब ४२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा ५१ अर्ब अर्थात् ७९ प्रतिशत मात्रै संकलन भएको छ ।

यसैगरी आन्तरिक तर्फको मूल्य अभिवृद्धि कर (भ्याट) ११ अर्ब ५१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा ८ अर्ब ९८ करोड अर्थात् लक्ष्यको ७८ प्रतिशत मात्रै असुली भएको छ । यसैगरी आन्तरिक तर्फको अन्तःशुल्क ११ अर्ब १२ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ७१ प्रतिशत मात्रै संकलन भएको छ ।

घरबहाल कर ६४ करोड ७८ लाख संकलन गर्ने लक्ष्य राखिएकामा ४१ करोड १३ लाख अर्थात् ६४ प्रतिशत, ब्याज १ अर्ब ४९ करोड लक्ष्य राखिएकोमा ८७ करोड ७९ लाख अर्थात ५९ प्रतिशत मात्रै संकलन भएको छ । यसैगरी स्वास्थ्य सेवा कर ५१ करोड ४० लाखको असुलीको लक्ष्य राखिएकामा लक्ष्यभन्दा ४४ प्रतिशत अर्थात् ७४ करोड १६ लाख  र शैक्षिक कर ८ करोड ८३ लाख लक्ष्य राखिएकामा ६ करोड ६५ लाख रुपैयाँ अर्थात् ७४ प्रतिशत मात्रै संकलन भएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा अन्तःशुल्क र स्वास्थ्य सेवा करबाहेक अन्य कर लक्ष्यभन्दा कम असुली भएको छ ।

आयकर १ खर्ब २० अर्ब संकलन गर्ने लक्ष्य राखिएकामा १ खर्ब ८ अर्ब रुपैयाँ अर्थात् ९६ प्रतिशत, भ्याट ६१ अर्ब २० करोड असुलीको लक्ष्यमा ५३ करोड २५ लाख रुपैयाँ अर्थात् ८७ प्रतिशत, घरबहाल कर २ अर्बको लक्ष्यमा १ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ७३ प्रतिशत असुल भएको छ ।
यस्तै ब्याज १ अर्ब ६९ करोड असुलीको लक्ष्य राखिएकामा १ अर्ब १४ करोड अर्थात् ६८ प्रतिशत, शैक्षिक कर ५० करोड २१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा २८ करोड २० लाख अर्थात् ५६ प्रतिशत मात्रै संकलन भएको छ ।

पुससम्म अन्तःशुल्क लक्ष्यको शतप्रतिशत र स्वास्थ्य सेवा कर दोब्बर संकलन भएको छ । अन्तःशुल्क ४७ अर्ब ४९ करोड असुली गर्ने लक्ष्य राखिएकामा ४७ अर्ब ७१ करोड रुपैयाँ सकंलन भएको छ । यसैगरी स्वास्थ्य सेवा कर १४ करोड ६३ लाखको लक्ष्यमा २९ करोड ७५ लाख रुपैयाँ अर्थात् १०३ प्रतिशत बढी संकलन भएको छ ।

आयकर र भ्याट असुली कमी हुँदा लक्ष्यमा धक्का 

पुसमा लक्ष्यभन्दा २२ प्रतिशत र चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा ७ प्रतिशत कम आन्तरिक राजस्व संकलन भएको छ । चालू आवको ६ महिनामा आयकर र मूल्य अभिवृद्धि कर असुली लक्ष्यभन्दा कम हुँदा आन्तरिक राजस्व संकलनको लक्ष्य नपुगेको हो ।

पुस मसान्तभित्रमा वार्षिक अनुमानित आयको ४० प्रतिशत आयकर बुझाउनुपर्ने व्यवस्था आयकर ऐनको दफा ९४ ले व्यवस्था गरेको छ । अनुमानित आयको ७० प्रतिशतसम्मको आयकर चैत मसान्त र बाँकी ३० प्रतिशत असार मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था छ ।

कुनै पनि उद्योग, व्यवसाय, सेवा लगायतका व्यावसायिक प्रतिष्ठानले आफ्नो वार्षिक प्रतिवेदन आर्थिक वर्षको पहिलो ३ महिनाभित्र पेस गर्नुपर्ने तथा उक्त समयभित्र पनि पेस गर्न नसकेको खण्डमा पुस मसान्तसम्मा विभाग जसरी पनि वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था आयकर ऐनले गरेको छ । पुसमा अधिकांश व्यावसायिक प्रतिष्ठानहरुले आफ्नो विवरण बुझाउने भएकाले यो महिनामा आयकर बापतको रकम बढ्ने गर्छ । तर, यस वर्षको पुस मसान्तसम्ममा ९६ प्रतिशत र पुस महिनामा ७९ प्रतिशत मात्रै आयकर संकलन भएको छ ।

सरकारले बजेटमार्फत आयकरमा दिएको छुट तथा कोभिड १९ ले व्यावसायिक प्रतिष्ठानहरु पारेको प्रभावले आयकर लक्ष्यअनुसार संकलन नभएको आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले बताए ।

‘कोभिड १९ का कारण व्यावसायिक प्रतिष्ठानको आम्दानी बढ्न नसक्नु, गत वर्ष भएको नोक्सानीको ‘क्यारीफर्वाड’ र सरकारले बजेटमार्फत दिएको छुट सुविधाले लक्ष्यमा केही कमी देखिएको छ’ उनले भने, ‘चालू आवको ६ महिनामा ९३ प्रतिशत कर असुली भएकाले विभागले लक्ष्यनजिक नै कर  संकलन गरेको छ ।’

पुसको पहिलो दिनमा विवरण पेस गर्नेलाई  आयकरमा ९० प्रतिशत, दोस्रो दिनमा ७५ प्रतिशत र तेस्रोमा ५० प्रतिशतभन्दा आयकरमा छुट दिएको विभागले जनाएको छ ।

यसैगरी कोभिडबाट अतिप्रभावित उड्डयन तथा हवाई, होटल तथा रेस्टुरेन्ट, पार्टी प्यालेस, सञ्चारगृह, सिनेमा हललगायत दिएको आयकरमा छुट र चालू आवमा पनि नोक्सानी बेहोर्ने प्रतिष्ठानले कर नबुझाउँदा आयकरमा कमी आएको विभागले जनाएको छ ।

यसैगरी पुँजीगत खर्चमा अपेक्षित रुपमा नहुँदा र सरकारले गर्ने भुक्तानीमा कमी आउँदा मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार असुल हुन नसकेको हो ।

सेवा, ठेक्का र पर्यटन व्यवसायबाट असुली कम हुँदा भ्याट घटेको विभागले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.