रारा घुम्न मोटरसाइकल प्याकेज!

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

पछिल्लो समय यातायातको पहुँच विस्तार भएपछि रारा ताल भ्रमण गर्ने नेपालीहरुको संख्या बढीरहेको छ। अघिल्ला वर्षहरुको तुलनामा पर्यटकको प्रवाह बढीरहेको व्यवसायीहरुले बताएका छन्।
रारा,फोक्सुन्डो तथा खप्तडमा बढीरहेको पर्यटकहरुको प्रवाहलाई मध्यनजर गर्दै व्यवसायीहरुले लगानी पनि सोहीअनुसार बढाएका छन्। राराको प्रवेसद्वार मानिने सुर्खेत,नेपालगंजमा ठुलो तथा संगठित रुपमा पर्यटन पूर्वाधारमा लगानी भइरहेको छ।
होटल,रिसोर्ट तथा ट्राभल एजेन्सीमात्र होइन आधुनिक र नविन सुविधासहितका त्यस्ता व्यवसाय पनि दिनप्रतिदिन बढीरहेका छन्। नेपालगंज तथा सुदूरपश्चिम क्षेत्रमा रहेका व्यवासयी तथा संगठित संस्थाहरुले उक्त क्षेत्रका विभिन्न गन्तव्यको लागि प्याकेज बनाएर बिक्री गरिरहेका छन्।
पूर्वाधारको विकास प्रचारप्रसारको व्यापकतासँगै पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भएको छ। जसका कारण अहिले राजधानी, पोखरा, चितवनबाहेक सुदुर पश्चिमको क्षेत्रमा पनि आन्तरिक पर्यटकको चहपहल बढेको बताउँछन् पर्यटनसँग सरोकार राख्नेहरु।
यसरी पछिल्लो समय उदाएको गन्तव्य हो कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको रारा ताल। प्राकृतिक सुन्दरताको अनुपम उपहार मानिने रारा विशेषगरी सडक पूर्वाधारको अभावको कारण खासै चर्चामा आउन सकेको थिएन।
तर पछिल्लो समय बाटोको विकासले गर्दा यो तालमा आउने आन्तरिक पर्यटकहरु बढेको बताउँछन् सोसाइटी अफ ट्राभल टुर अपरेटर्स नेपाल(सोट्टो)का निवर्तमान अध्यक्ष यम बहादुर खड्का।
सीमित सुविधा, कमजोर यातायात पूर्वाधारकाबीच पनि पछिल्लो समय रारा जाने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। एकीन तथ्यांक नभएपनि पहिले सामन्यतया दैनिक २० जनासम्म पुग्ने रारामा पछिल्लो समय करिब २ सयको हाराहारीमा पुग्ने गरेका छन्।
विदेशी पर्यटक कमै पुग्ने रारामा प्राय आन्तरिक पर्यटक पुग्ने गरेका छन्। प्रचारप्रसारको प्रभाव तथा धेरै जना नपुगेको नयाँ गन्तव्य भएकोले एकपटक पुगौं भन्ने भावनाले पनि रारा सबैको आकर्षण बन्न पुगेको नेपाल पर्यटन बोर्डका संचार विज्ञ शरद प्रधानको भनाई छ।
रारा घुमफिर प्याकेज थरीथरीका 
विभिन्न ट्राभल एजेन्सी तथा संघसंस्थाहरुका अनुसार रारा पुग्नको लागि विभिन्न प्रकारका प्याकेजहरु बनाएका छन्।  काठमाडौंबाट रारासम्मको यात्रामा हवाई, जिप र बसमार्फत गरिने रारा यात्राको लागि न्यूनतम २८ हजार र अधिकतम ३८ हजार रुपैयाँ खर्च लाग्ने व्यवासयीहरुको भनाई छ।
त्यस्तै सुर्खेत नेपालगंज वा धनगढीबाट राराको यात्रा गर्नको लागि जिपमा १० देखि १५ हजार, हवाईमार्फत गए २० हजारसम्म लाग्ने त्यहाँका व्यवसायीहरुले बताएका छन्।
कसरी जाँदा कतिदिन लाग्छ? 
हवाई यात्राबाट जाँदा  ३ दिन ४ रात, जिप, बस र हवाईमार्फत जाँदा  चार रात पाँच दिन(यसमा रारा पुग्दासम्म गाडी र जिप र ताल्चाबाट नेपालगंजसम्म बसमा आउनसकिन्छ)। त्यस्तै जिप र बसमार्फतमात्र यात्रा गर्दा काठमाडौंबाट रारा पुगेर फर्कनलाई आठ दिन लाग्छ।
मोटरसाइकल प्याकेज!
रारासम्म मोटरसाइकलमा स्वतःस्फुर्त गएको त हामीले देखेकै छौं तर अब मोटरसाइकलमै जान चाहनेहरुको लागि व्यवसायीहरुले मोटरसाइकल टुर प्याकेज पनि ल्याउने भएका छन्। नेपालगंजको कोहलपुरमा चारतारे सुविधाको होटल सेन्टरप्लाजा निर्माण गरिरहेका देवानन्द अर्यालले राराको लागि मोटरसाइकल टुर प्याकेज ल्याउन लागिएको जानकारी दिए।
सेन्टर प्लाजा होलिडेको नाममा खुल्ने ट्राभलले रारा, फोक्सुन्डो, खप्तड र मानसरोबरको लागि यात्राको लागि सबैप्रकारका टुर प्याकेजसँगै युवाहरुलाई लक्षित गरेर राराको लागि मोटरसाइकल प्याकेज ल्याउने योजना रहेको जानकारी दिए।
शाहसिह यात्रा गर्न रुचाउने यूवाहरुको समूहलार्य लक्षित गरेर प्याकेज नै बनाएर मोटरसाइकल उपलब्ध गराइने उनले जानकारी दिए। आउन लागेको नयाँवर्षबाट उक्त प्याकेज सुरु गर्ने तयारी गरेका अर्यालका अनुसार हाल त्यसको लागि मोटरसाइकल खरिदको प्रक्रिया अगाडि बढाइएको छ।
मोटरसाइकलमा जानको लागि इन्धन यात्रुले नै हाल्नुपर्ने छ भने शुल्क एकदिनको १५ सय रुपैयाँ लाग्ने छ। न्यूनतम पाँचजनाको समूहलाई एउटा प्याकेज बनाउने योजना बनाएको अर्यालले प्रत्येक समूहसँगै एउटा ब्याकअप टोली पनि पठाइने जानकारी दिए।
उक्त ब्याकअप टोलीलले मोटरसाइकलको मर्मत, हेरचाह तथा यात्रुहरुको सुरक्षाको लागि मेडिकल टोली पनि हुने छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.