राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले घटाउन थाले निक्षेपको ब्याजदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनादेखि लागू हुने गरी सार्वजनिक गरेका ब्याजदर संशोधन गर्दै घटाउन थालेका छन्।

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले असोज १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएका छन्। केन्द्रीय बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गर्दै घटाएका हुन्। 

राष्ट्र बैंकले निक्षेपको ब्याजदर अधिकतम ५ प्रतिशतभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था गरेको छ। तर कतिपय बैंक तथा वित्तीय संस्थाहरुले सामान्य बचत र मुद्दति निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा बढीले फरक हुनेगरी असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका थिए। 

सोही कारण राष्ट्र बैंकले हिजो मंगलबार बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठन र बैंकरहरुलाई बोलाएर ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा रोक्न र ब्याजदर घटाउन निर्देशन दिएको थियो। 

केही बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेर बुधबार नयाँ सूचना निकालेका छन्। 

सिटिजन्स इन्टरनेसनल बैंकले असोज ४ गते प्रकाशित गरेको दसैँतिहार मुद्दति निक्षेप योजना हाललाई स्थगित गरिएको नयाँ सूचना प्रकाशित गरेको छ। 

यसैगरी मुक्तिनाथ विकास बैंकले आज एक सूचना जारी गर्दै मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५ प्रतिशतमा झारेको छ। यसअघि बैंकले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतसम्म पुर्याएको थियो। 

यसैगरी गरिमा विकास बैंकले निक्षेपको ब्याजदरमा संशोधन गरेको छ। 

मञ्जुश्री फाइनान्सले पनि भदौ ३१ गते सार्वजानिक गरेको पुरानै ब्याजदर लागू गर्ने जनाएको छ। उसले असोज ४ गते नयाँ ब्याजदरसम्बन्धी सूचना सार्वजनिक गरेको थियो। उक्त सूचना भुलबस सार्वजनिक भएको भन्दै बैंकले पुरानै ब्याजदर लागू हुने प्रस्ट पारेको छ।

यसैगरी प्रोग्रेसिभ फाइनान्सले पनि पुरानै ब्याजदर लागू हुने भन्दै सूचना प्रकाशित गरेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.