लगानीलाई बाधक ठानिएका ऐनमा छिट्टै सुधार हुन्छः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन्।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्राकोष ९आईएमएफ० की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवर्द्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। लगानी सम्मेलनको तयारी तीव्र गतिमा बढेको उनको भनाइ थियो।

लगानी वातावरण बनाउन संघीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसद्मा प्रस्तुत गरिसकेको जानकारी उनले दिए। मन्त्री पुनले सन् २०२६ भित्र नेपाल अतिकम विकसित मुलुक ९एलडीसी० बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै विकास साझेदार संस्थासँग सहुलियतपूर्ण कर्जा लिने नीतिमा रहेको बताए।

कोभिड महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उनले उल्लेख गरे। सरकारले राजस्व चुहावट नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर काम अघि बढाएको उनले बताए।

कर प्रणाली सुधार सुझावसम्बन्धी समितिले हालै मात्र बुझाएको प्रतिवेदन अध्ययन चरणमा रहेको भन्दै उनले समितिको सुझावका आधारमा कर नीतिमा सुधार गरिने धारणा व्यक्त गरे।

विगतजस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द, हड्तालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकीे मुलुकले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उयपुक्त गन्तव्य भएको दाबी मन्त्री पुनको थियो।

पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार्दै मन्त्री पुनले सरकारी निकायको खर्च गर्ने क्षमता वृद्धि गरिने उल्लेख गरे।भेटमा आईएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताइन्। नेपालको आर्थिक प्रणाली स्थिर रहेकामा पनि उनले प्रशंसा गरिन्।

उनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा आईएमएफका तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व हुने जानकारी मन्त्री पुनलाई गराइन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.