वितरण भईसकेको लाभांश फिर्ता ल्याउन भनेपछि नेपाल बैंकका अध्यक्षले दिए राजिनामा

नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएका छन् । बैंकको साधारणसभाले पारित गरेर शेयरधनीलाई वितरण गरिसकिएको लाभांश फिर्ता लिन अर्थ मन्त्रालय निर्देशन दिएपछि उनले त्यसो गर्न नसक्ने भन्दै राजिनामा दिएका हुन् ।

नेपाल बैंकले आर्थिक वर्ष ७६/७७ को लागि १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश साधारणसभाबाट पारित गरेको थियो । तर बैंकले अर्थको निर्देशन विपरित लाभांश प्रस्ताव गरेको भन्दै त्यसलाई घटाएर १० प्रतिशत हाराहारी कायम गर्न निर्देशन दिएको हो । 

बैंक सञ्चालक समितिका अध्यक्ष अधिकारीले आफुले राजिनामा दिएको पुष्टि गरेका छन्। आफुले माघ ५ गते नै अर्थमन्त्री समक्ष राजिनामा दिएको बिजपाटीलाई बताए । साधारणसभाले पारित गरेको लाभांशबाट पछाडी हट्न नसकिने र त्यसलाई कार्यान्वयन गर्न नसक्ने भएकोले आफुले राजिनामा दिएको उनले बताए । 

उनले अर्थ मन्त्रालयले लाभांश घटाउने निर्णय पुस २८ गते गरेको जानकारी आफुले पाएको बिजपाटीलाई बताए । तर त्यसबारेको पत्र पुस २९ गते बैंकको सधारण सकिएपछि मात्र आफुले पाएको र साधारणसभाले नै पारित गरिसकेपछि पछाडी फर्कने अवस्था नरहेको उनको भनाई छ । 

उनले लाभांश प्रस्ताव गर्ने बेलामा मन्त्रालयसँग पनि छलफल भएको बताए । बैंकले नियम अनुसार लाभांश प्रस्ताव गरेको, राष्ट्र बैंकले समेत त्यसलाई स्वीकृति दिएर साधारणसभाले पारित गरेपछि लाभांश घटाउन नमिल्ने उनको भनाई छ। सरकारी संस्थान र बैंकलाई एउटै नियमले हेर्न नहुने उनको भनाई छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.