विदेशबाट अनलाइन सेवा खरीदका लागि वार्षिक ५०० डलर बराबरको सुविधा मात्र दिइने !

नेपाल राष्ट्रबैंकले अनलाइनमार्फत विदेशबाट सेवा आयात बापतको भुक्तानी प्रयोजनका लागि वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको कार्ड जारी गर्नसक्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा घोषणा गरेको व्यवस्था कार्यान्वयनमा ल्याउने उद्देश्यले अनलाइनमार्फत विदेशी सेवा आयात बापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने सम्बन्धी व्यवस्थाको डाफ्ट सार्वजनिक गर्दै यस्तो प्रस्ताव गरेको हो ।

प्रस्तावित व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले विदेशी सेवा आयात बापतको भुक्तानीका लागि अधिकतम ५०० अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्नसक्नेछन् ।

परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वाणिज्य बैंकहरुले त्यस्तो कार्ड जारी गर्न सक्नेछन् । कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको केवाइसी विवरण अद्यावधिक भएको हुनुपर्ने र सम्बन्धित प्रयोगकर्ताको स्थायी लेखानम्बर पनि हुनुपर्ने भनिएको छ ।

प्रयोगकर्ताले यस्तो सुविधा एक वर्षमा एकै वा पटक पटक गरी बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म उपभोग गर्न पाउने प्रस्ताव गरिएको छ ।

यस्तो सुविधा एक ग्राहकले एउटा बैंकबाट मात्र लिन पाउनेछन् । यसका लागि यस्तो सुविधा लिन बैंक जाने ग्राहकले यसअघि अन्य बैंकबाट सुविधा नलिएको स्वघोषणा समेत गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

तर, जम्मा गरिएको रकम उपभोग गरी प्रयोगकर्ताले कम्तीमा पनि सोको दोब्बर विदेशी मुद्रा आय आर्जन गरेको प्रमाणित कागजात पेश गरेमा वाणिज्य बैंकबाट आवश्यकता र औचित्यका आधारमा उक्त कार्डमा थप रकम जम्मा गर्न सटही सुविधा उपलब्ध गराउन सकिनेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.