विदेशमा दाहसंस्कार गरिएका श्रमिकका आफन्तलाई थप ५० हजार सहयोग

कोरोना संकटका बेला श्रम गन्तव्यमा शव दाहसंस्कार गर्ने श्रमिकका आफन्तले सरकारबाट थप प्रति श्रमिक ५० हजार रुपैयाँ आर्थिक सहयोग पाउने भएका छन् ।
लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा मृत्यु भएर शव नेपाल ल्याउन नपाई श्रम गन्तव्यमै दाहसंस्कार गरेका श्रमिकका आफन्तलाई सरकारले सहयोगस्वरुप ५० हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको हो । यो निर्णयपछि विदेशमा मृत्यु भएका श्रमिकका आफन्तले यसअघि लिँदै आएको ७ लाखसहित थप ५० हजार रुपैयाँ पनि पाउने छन् ।
सरकारले कोरोना अवधिमा विदेशमा मृत्यु भइ श्रम गन्तव्यमै दाहसंस्कार गर्ने श्रमिकलाई थप ५० हजार रुपैयाँ आर्थिक सहयोग दिन निवेदन लिन सुरु गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यसअघि श्रम स्वीकृतिको अवधीमा मृत्यु भएका श्रमिकका आफन्तलाई बोर्डले ७ लाख रुपैयाँ लिएको भएपनि विदेशमा शव दाहसंस्कार गरेको प्रमाणित भएपनि यो ५० हजार रुपैयाँ समेत पाइने छ । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले हालसम्म विदेशमा दाहसंस्कार गरेका १७२ श्रमिककका आफन्तले बोर्डमा सहयोगका लागि निवेदन दिएको बताए ।
“आइतबारसम्म ७० जना मृतकका आफन्तले ७ लाखसहित ५० हजार रुपैयाँ सहयोग लिइसकेका छन् ।” निर्देशक श्रेष्ठले कारोबारसँग भने, “हालसम्म सम्बन्धित परिवारको तर्फबाट सहमति प्राप्त भएका कूल २३४ जनाको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गरिएको छ ।” यसमध्ये पनि वैदेशिक रोजगार नियमावलीअनुसार आर्थिक सहयोग पाउने मादण्डमा परेकाको संख्या भने हालसम्म १७२ जना मात्र रहेको बोर्डले जनाएको छ ।
यसरी विदेशमा दाहसंस्कारको सहमति प्रदान गर्ने परिवारलाई सान्त्वना राहत स्वरुप बोर्डबाट यो हप्ताबाट मात्र सहयोग प्रदान गर्न सुरु गरिएको बोर्डले जनाएको छ । सम्बन्धित मुलुकमा अन्त्येष्टि गरिएका २३४ जना नेपाली कामदारमध्ये १३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । ५० हजार आर्थिक सहयोग भने अन्य कारणले विदेशमा मृत्यु भएर मापदण्डमा परेका सबै श्रमिकका आफन्तले पाउने छन् ।
श्रम गन्तव्यमै मृत्यु भएको तथा कोभिड–१९ ले अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा शव नेपाल ल्याउन नसक्ने अवस्था भएका मृतक श्रमिकका लागि आर्थिक सहयोग योजना ल्याइएको श्रेष्ठले बताए । हाल भने कोरोना संक्रमणबाहेक अन्य कारणले मृत्यु भएका श्रमिकको शव भने नियमित आइरहेको छ ।
यो सहयोग प्राप्त गर्नका लागि श्रम स्वीकृति गरेर गएको श्रमिकको हकमा मात्र लागु हुने जनाइएको छ । बोर्डले सम्बन्धित गन्तव्यमा रहेको नेपाली दूतावासबाट शवदाह गरेको व्यहोराको पत्र भने आवश्यक पर्ने जनाएको छ । यसका लागि मृतकका आफन्तले शव सम्बन्धित मुलुकमा दाहसंस्कार गर्न सहमति भने दिएको हुनु पर्ने छ । यसअघि ७ लाख रुपैयाँ लिएकाहरुले यो सहयोग कार्यक्रम लागु भएपछि थप ५० हजार पाउने जनाइएकोे छ । निर्देशक श्रेष्ठले अधिकांश श्रमिकका आफन्तलाई नियमित दिँदै आएको ७ लाखसहित हाल थप गरिएको ५० हजार एकै पटक उनीको बैंक खातामा जम्मा गर्न थालिएको बताए ।
चैतयता विदेशमा मृत्यु भएका ४२० भन्दा बढी नेपालीको शव स्वदेश ल्याइएको छ । यो संख्या भने विदेशमा मृत्यु भएका श्रमिक र गैरश्रमिकको संख्या हो । मृत्यु भएकामध्ये ११४ मृतकको शव परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको छन् । यसमध्ये कोरोनाका कारण ६ श्रम गन्तव्यमा ११२ भन्दा बढी नेपालीको मृत्यु भएको थियो । विदेशमा मृत्यु भएका र दाहसंस्कार गरिएका सबै श्रमिकका आफन्त सहयोग भने पाउँदैनन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.