सन्दीप लामिछाने प्रकरण – होटलको सिसिटिभी फुटेज सङ्कलन

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार बलात्कारको आरोपसहित उजुरी परेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकका अनुसार एक किशोरीले लामिछानेविरुद्ध आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको र पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ । स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको बताइएको छ ।

लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि लामिछानेको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमणमा गएको थियो । सो घटना त्यसअघि भएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार नाबालिग १७ वर्षीया हुन् । स्न्यापच्याट र हवाट्एप मार्फत कुराकानी भएपछि नाबालिगलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

अनुसन्धान अधिकृतहरूका अनुसार एयरपोर्ट स्थित शम्भु मार्गमा रहेको काठमाडौँ इन होटेलमा लगेर सन्दीपले बलात्कार गरेको आरोप छ । सो होटेलमा प्रहरीले घटनास्थल मुचुल्का गर्ने तयारी गरेको छ । नगरकोटमा पीडितलाई घुमाएको होटल, रेष्टुरेष्टको सिसिटिभी फुटेज सङ्कलनका लागि अनुसन्धान टोली परिचालन गरिएको छ ।

प्रहरीले थापाथली अस्पतालमा पीडितका स्वास्थ्य परीक्षण गराएको छ । नाबालिगले आफ्नो साथीसँग सन्दीपले बलात्कार गरेको कुरा सेयर गरेपछि घटना बाहिरिएको थियो । सन्दीप अहिले विदेशमा छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.